विपिनको रिहाइका लागि अधिकतम कूटनीतिक पहल गरिरहेका छौं : परराष्ट्रमन्त्री राणा

विपिनको रिहाइका लागि अधिकतम कूटनीतिक पहल गरिरहेका छौं : परराष्ट्रमन्त्री राणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि परराष्ट्र मन्त्रालयले अधिकतम कूटनीतिक पहल जारी राखेको बताएकी छन् ।

सामाजिक सञ्जालमार्फत् उनले पहल जारी रहेकोबारे जानकारी गराएकी छन् ।

उनले लेखेकी छन्, ‘परराष्ट्र मन्त्रीमा नियुक्त भएपछि यो मुद्दालाई प्राथमिकतामा राखेर काम सुरु गरेकी हुँ । यो १ वर्ष म उपस्थित भएका राष्ट्रसंघीय महासभादेखि अन्तर्राष्ट्रिय मञ्च, विभिन्न द्विपक्षीय तथा बहुपक्षीय बैठक तथा भेटवार्ताहरूमा सबैसँग विपिनको रिहाइका लागि विशेष आग्रह गरिरहेकी छु ।’

मन्त्री डा.राणाले गत असोजमा राष्ट्रसंघको ७९औं महासभामा सहभागी हुन न्युयोर्क पुगेका बेला त्यहाँ उपस्थित विश्वका नेताहरू, जी ७७ प्लस, जी २०,  एलडीसी समूह लगायतका बैठकहरूलाई सम्बोधन गर्ने क्रममा पनि विपिन रिहाइको विषयमा विश्व समुदायको ध्यानाकर्षण गराएकी थिइन् ।

गत असोजमा दोहामा आयोजित एसीडी सम्मेलनमा सम्बोधन र त्यसपछिका साइडलाइन भेटहरूमा पनि उनले विपिनको विषय उठाएकी थिइन् ।

इजरायल र हमासबीच युद्धविरामको तयारी भएपछि त्यसमा संलग्न र सम्बद्ध देशका विदेशमन्त्रीहरूसँग फोनमा र ती देशका नेपालस्थित राजदूतहरूसँग भेटेरै विपिनको रिहाइका लागि सहयोग गर्न आग्रह गरे ।

उनले गत माघमा कतारका विदेश राज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग फोनवार्ता गरी पहिलो चरणमै विपिनको रिहाइका लागि आग्रह गरेकी थिइन् ।

मन्त्री डा. राणाले इजरायलका विदेशमन्त्री गिडियन सारसँग पनि फोनवार्ता गरी रिहाइको आग्रह गरिन् । हमासले अपहरणमुक्त गर्न लागेका भनिएका व्यक्तिहरूको पहिलो चरणमा नै विपिनको रिहाइका लागि इजरायल सरकारले पहल गरिदियोस् भन्ने आग्रह उनले विदेशमन्त्रीसँग गरेकी थिइन् ।

त्यसैगरी, उनले इजिप्टका विदेशमन्त्री डा.बदर अब्देल–अति तथा इरानी विदेशमन्त्रीसँग फोनवार्ता गरी विपिनको रिहाइका लागि विशेष पहल गरिदिन नेपाल सरकारका तर्फबाट आग्रह गरिन् ।

उनले गत चैतमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सहायक तथा दक्षिण र मध्य एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ निर्देशक रिकी गिलसँग समेत नयाँदिल्लीमा भेट गरी विपिनको रिहाइमा अमेरिकाको सहयोग मागेकी थिइन् ।

उनले मध्यपूर्वको शान्तिका लागि पहल गरिरहेका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग पनि गत फागुनमा प्रधानमन्त्री केपी शर्मा ओलीले फोनमार्फत् ध्यानाकर्षण गराएकी थिइन् ।

हाल परराष्ट्र मन्त्रालयको परामर्श र इजरायल सरकारको सहयोगमा विपिनकी आमा र बहिनी इजरायल पुगेका र उनीहरूले इजरायली राष्ट्रपतिसँग भेट गरी विपिनको रिहाइको अपिल गरेका जानकारी पनि उनले गराइन् ।