काठमाण्डु– रुबिकुमारी साहको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका लक्ष्मण पासवानको शरीरमा विभिन्न शब्द र छातीमा रुबिको तस्वीरसहितको ट्याटु भेटिएको छ।
बुधबार बिहान पक्राउ परेका पासवानको हातमा ‘माइ हर्ट रुबिकुमारी’ लेखेको ट्याटु छ भने छातीमा रुबिको तस्वीरसहितको ट्याटु खोपेको पाइएको हो । पासवान जलेको अवस्थामा घाइते भेटीएका थिए ।
उनी रुबीसँग प्रेम सम्बन्धमा रहेकाे प्रहरीकाे भनाइ छ । पासवानले घटनामा संलग्नता रहेको स्वीकार गरेकाे जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु कार्कीले जानकारी दिए ।


कार्कीका अनुसार पासवानलाई आज बिहान माधव नारायण नगरपालिका–६ स्थित नहर किनारमा पेट्रोल हालेर आत्मदाहको प्रयास गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो। घाइते अवस्थामै उनलाई उद्धार गरी गरुडास्थित बेटर अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।
आत्मदाह प्रयास गर्नुअघि उनले भिडिओ नै बनाएर घटना विवरण सुनाएका थिए । पासवानले आफ्ना भिडिओमा रुबी आफ्नै प्रेमिका मात्र नभएर श्रीमती नै भएको दाबी गरेका छन् । आफूहरूले नेपाल र भारत दुवैतिर अदालती विवाह गरेको उनको भनाइ छ । तर रुबीकी आमाले आफूहरूलाई छुटाएको पासवानले बताएका छन् ।
पासवनले भिडिओमा भनेका छन्, ‘म दोषी हुँ । तर म भाग्दिनँ । जेलमा बस्न पनि सक्दिनँ । म मर्छु । मेरो प्राण त गइसकेको छ । ऊ त्यहाँ पर्खिरहेकी छे । भन्छे, ‘कब आउँछस् रु’ आज मेरो मन छ, त्यहाँ पुगेर भेटौँ । किनभने मेरो प्राण त्यहीँ छ ।’
गत शनिबार राति गौर नगरपालिका–९ मुडवलवा नजिक सुटकेसभित्र रुबिको शव फेला परेको थियो। यसअघि प्रहरीले शवलाई ई–रिक्सामा राखी सडकसम्म पुर्याएको आरोपमा चालक लक्ष्मण महरालाई पनि पक्राउ गरिसकेको छ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट पासवान नै हत्या प्रकरणको मुख्य आरोपी भएको पुष्टि भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।




प्रतिक्रिया