काठमाण्डु – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) लाई ४ बुँदे निर्देशन दिएका छन् ।
सीटीईभीटीका पदाधिकारीसँग बिहीबार भएको बैठकमा उनले विभिन्न निर्देशन दिएका छन् ।
सीटीईभीटीको मौजुदा पाठ्यक्रमलाई सुधार गरी नवप्रवर्तनलाई समावेश गर्न खाका तयार गरी असोज मसान्तभित्र पेश गर्न उनले निर्देशन दिए । एकीकृत क्यालेन्डर बनाउन र परीक्षाको परीक्षाफल ३ महिनाभित्र अनिवार्य रूपमा प्रकाशन गर्ने व्यवस्था गर्न उनले निर्देशन दिए ।
मन्त्री पुनले सीटीईभीटी कार्यालयमा विद्यार्थी, अभिभावक र शिक्षकहरूको गुनासो सुन्ने र प्राप्त गुनासोको अभिलेखीकरण, सम्बोधन गर्ने शाखा तुरुन्त बनाई सञ्चालनमा ल्याउन निर्देशन दिए ।
२०६९ सालदेखि अहिलेसम्म सम्बन्धनका लागि प्राप्त भएका सम्पूर्ण आवेदनहरू छानबिन गरी असोज मसान्तभित्र प्रतिवेदन पेश गर्न र सम्बन्धन दिने/नदिने निर्णय तुरुन्त गर्न पनि उनले निर्देशन दिए ।




प्रतिक्रिया