अवैध लागूऔषधसहित ५ जना पक्राउ

अवैध लागूऔषधसहित ५ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ५ जनालाई पक्राउ गरेको छ ।

बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहबाट अवैध लागूऔषध खैरो हेरोइन ३ ग्राम ६० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा खजुरा गाउँपालिका–४ एफ गाउँ बस्ने ३० वर्षीय खेमलाल गुरूङ र २७ वर्षीया अन्जु गुरूङ रहेका छन् । इलाका प्रहरी कार्यालय मैनापोखर समेतबाट खटिएको प्रहरी टोलीले भारतको बलई गाउँबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई लागूपदार्थसहित फेला पारी पक्राउ गरेको छ ।

चितवनको भरतपुर महानगरपालिका–२ क्याम्पाचौरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३९० ट्याब्लेट, भोमिइन ३९० ट्याब्लेट, डाइजेपाम ४ एम्पुल, बुप्रेनोर्फिन ४ एम्पुल र प्रोमेथाजाइन ४ एम्पुलसहित भरतपुर महानगरपालिका–१५ रामपुर बस्ने ३५ वर्षीय सिंह राज लामालाई प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरी टोलीले ना२०प ५७५८ नम्बरको स्कुटरमा सवार उनलाई लागूऔषधसहित फेला पारी पक्राउ गरेको छ ।

सुनसरीको धरान उपमहानगरपालिका–१७ बस्ने २८ वर्षीय भोजराज चौहानलाई नियन्त्रित लागूऔषध ट्रामाडोल १४० ट्याब्लेट र स्पास्पेन ६० ट्याब्लेटसहित प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनको घर तलासी गर्दा लागूऔषध फेला पारी पक्राउ गरेको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिका–६ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन १२ ग्राम ६०० मिलिग्रामसहित बेलौरी नगरपालिका–८ पचुई बस्ने ३० वर्षीया संगीता चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी कैलाली र इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

बरामद लागूपदार्थ सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।