गोल्डेन हत्या प्रकरणमा ‘खुनी दरिन्दे’ समूहका ४ जना पुर्पक्षका लागि थुनामा, २ धरौटीमा रिहा

गोल्डेन हत्या प्रकरणमा ‘खुनी दरिन्दे’ समूहका ४ जना पुर्पक्षका लागि थुनामा, २ धरौटीमा रिहा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही – दशैंको महाअष्टमीका दिन वीरगञ्जमा भएको रगताम्य झडपमा २० वर्षीय शिवम साह कानुउर्फ ‘गोल्डेन’को हत्या प्रकरणमा संलग्न ४ जनालाई पर्सा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ भने २ जना धरौटीमा रिहा भएका छन् ।

पर्सा जिल्ला अदालतको शुक्रबारको आदेशअनुसार वीरगञ्ज महानगरपालिका–२४ रामगढवाका १९ वर्षीय गौतम पटेल, २० वर्षीय शुभ शंकर चौरसिया र २२ वर्षीय अमिरी पटेललाई वीरगञ्ज कारागार चलान गरिएको छ । मुद्दामा १७ वर्षीय किशोरलाई बाल सुधार गृह पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

घटनामा संलग्न चन्दन चौरसिया र अमन पटवालले अदालतले तोकेको २–२ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् भने ५० हजार धरौटी बुझाउन नसकेका मन्टु पटेल भने कारागार चलान भएका छन् ।

घटना गत असोज १४ गते राति करीब साढे ११ बजे वीरगञ्ज महानगरपालिका–१० स्थित गीता मन्दिर नजिक लागेको मेलामा भएको छ ।

सामान्य विवादबाट सुरु भएको झगडा क्रमश: हिंसामा परिणत भई ‘खुनी दरिन्दे’ नामक ह्वाट्स एप समूह सञ्चालन गर्ने गिरोहका सदस्यहरूले शिवममाथि धारिलो हतियार र बाँसका भाटा प्रयोग गरी आक्रमण गरेका थिए ।

गम्भीर घाइते भएका शिवमलाई तत्काल नारायणी अस्पताल पुर्‍याइए पनि राति ११:५० बजे चिकित्सकले मृत घोषित गरेका थिए । बाराको परवानीपुर गाउँपालिका–९ का स्थायी वासिन्दा शिवम् वीरगञ्जमा बस्दै रिक्सा चलाएर जीविकोपार्जन गर्दै आएका थिए । घटनापछि जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सुदीपराज पाठकको निर्देशनमा ‘अपरेसन च्यालेन्ज’ नामक विशेष अनुसन्धान सञ्चालन गरिएको थियो ।

प्रहरीले घटनास्थलको मुचुल्का, शव परीक्षण प्रतिवेदन र सीसीटीभी फुटेजको गहन विश्लेषण गरी २४ घण्टाभित्र १० जना शंकास्पद व्यक्तिको पहिचान गरेको थियो । त्यसपछि २८ घण्टाभित्र ५ जना पक्राउ परेका थिए ।

तीमध्ये २ जना भारतको पश्चिम चम्पारणको बल्थर गाउँमा लुकेर बसेका थिए, जसलाई भारतीय सुरक्षाकर्मीको सहयोगमा पक्राउ गरी नेपाल ल्याइएको प्रहरीले जनाएको छ ।

पछि असोज २१ गते घटनाका मुख्य योजनाकारका रूपमा चिनिएका १७ वर्षीय किशोर पक्राउ परे, उनले सामाजिक सञ्जालमार्फत शिवमलाई ‘घरमै बस्, नत्र मारिदिन्छु’ भन्दै धम्की दिएका थिए । त्यसपछि मन्टु पटेल पनि पक्राउ परेका थिए ।

प्रहरीको अनुसन्धानले शिवम र उक्त गिरोहबीच १ वर्षअघि पनि झगडा भएको र प्रहरीमा उजुरी परेको तथ्य फेला पारेको छ । अनुसन्धानअनुसार घटनाको राति गिरोहका सदस्यहरूले मादक पदार्थ सेवन गरेका थिए र पुरानो रिसइबी साँध्ने क्रममा शिवम एक्लै परेको मौका छोपेर उनको हत्या गरेका थिए ।

किशोरावस्थाको आवेग, समूहको वर्चस्व प्रदर्शन गर्ने चाहना र कुख्यात बन्ने मानसिकता यो अपराधका मुख्य कारण हुन् । अनुसन्धानका क्रममा सीसीटीभी फुटेज, ह्वाट्स एप च्याट, कल डिटेल रेकर्ड, फेसबूक पोस्ट र प्रत्यक्षदर्शी बयानले अपराधीहरूको पहिचानमा निर्णायक भूमिका खेलेको प्रहरीको भनाइ छ ।