काठमाण्डु– गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी प्रदर्शनसँगै बिथोलिएको शान्ति सुरक्षा सामान्य अवस्थामा फर्किएकोदाबी गरेका छन् ।
बिहीबार राष्ट्रियसभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमामा बोल्दै अर्यालले २ महिनाको अवधिमा शान्ति सुरक्षालाई सामान्य अवस्थामा ल्याउन सफल भएको बताएका हुन् ।
जेनजी युवाहरू समेतको सहभागितामा गृह मन्त्रालयमा सहायता कक्षको स्थापना गरेर सुरक्षा जोखिम भएका व्यक्तिहरूलाई सहजीकरण गरिएको उनले बताए ।
उनले भने, ‘सुशासन दिन नसके विद्रोह हुने रहेछ भन्ने प्रस्टसँग देखिएको छ। सुशासन सरकारको नियमित र उच्च प्राथमिकताको काम हो भन्ने हामीले बुझेका छौँ। सुशासन दिन नसक्दा विद्रोह हुने देखिसकेका छौँ। सुशासनको मामिलामा सचेत छौँ। माग सम्बोधन गर्छौँ।’
यस्तै उनले आगामी फागुन २१ मा निर्वाचन सम्पन्न गर्नु वर्तमान सरकारको प्राथमिक जिम्मेवारी रहेको बताए । उनले भने ‘हामीलाई प्राप्त जिम्मेवारी अनुसार समयमै निर्वाचन सम्पन्न गरेर छिटो भन्दा छिटो जनताबाट निर्वाचित प्रतिनिधिलाई सुम्पन हामी आतुर छौं ।’
युवा पुस्तालाई मतदानको अवसर प्रदान गर्न मतदाता नामावली ऐन २०७३ लाई संशोधन गरिएको छ । निर्वाचनको आयोगको तथ्यांक अनुसार यसबाट २ लाख बढी मतदाता थप भएका छन् ।




प्रतिक्रिया