८ दलका प्रमुख मधेशबाट चुनावी मैदानमा

८ दलका प्रमुख मधेशबाट चुनावी मैदानमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –विभिन्न दलका ८ जना प्रमुखहरू मधेशलाई आधार बनाएर प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् ।

ती मध्ये देशकै सबैभन्दा ठुलो राजनीतिक दल नेपाली कांग्रेसका सभापति पनि छन् । यसका साथै मधेश केन्द्रित दलका अध्यक्षहरूसहित अन्य दल पनि छन् ।

कांग्रेस सभापति रहेको गगन थापा सर्लाही–४ बाट चुनावी प्रतिस्पर्धामा उत्रेका छन् । थापा हालै सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट सभापतिमा चयन भएका हुन् ।

त्यसैगरी समुन्नत नेपाल पार्टीका अध्यक्ष तथा पूर्वआईजीपी सवेन्द्र खनाल पनि मधेशलाई नै आधार बनाएर प्रतिस्पर्धामा उत्रेका छन् । खनालले बारा–४ बाट उम्मेदवारी दिएका छन् ।

यसका साथै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सिके राउत, आम जनता पार्टीका अध्यक्ष प्रभु साह, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो, नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व गृहराज्यमन्त्री रिजवान अन्सारी र राष्ट्रिय निर्माण दल नेपालका अध्यक्ष समिम मियाँ अन्सारले पनि मधेशका विभिन्न जिल्लाबाट चुनावमा उठेका छन् ।

कांग्रेस सभापति थापा उम्मेदवार रहेको सर्लाही–४मा एमालेका अमनिशकुमार यादव र रास्वपाका अमरेश कुमार सिंह पनि चुनावी मैदानमा छन् ।

जसपा नेपालका अध्यक्ष यादवले सप्तरी–३ बाट मैदानमा छन् । उक्त क्षेत्रबाट एमालेका ताराकान्त चौधरी, कांग्रेसका दिनेशकुमार यादव र नेकपाका अरुणकुमार साह पनि प्रतिस्पर्धामा छन् ।

यसैगरी जनमत पार्टीका अध्यक्ष राउत सप्तरी–२ बाट चुनाव लड्दैछन् । राउतको प्रतिस्पर्धीमा एमालेका जियाउल हक अन्सारी, कांग्रेसका रामकुमार यादव, नेकपाका सूर्यनाथप्रसाद यादव र स्वाभिमान पार्टीका सतिश सिंह छन् ।

यसअघि सिंह जनमत पार्टीबाटै मधेशका मुख्यमन्त्री बनेका थिए । यसपटक उनी आफ्नै पूर्वपार्टीका अध्यक्षविरुद्ध चुनाव लड्न लागेका हुन् ।

यस्तै, आम जनता पार्टीका अध्यक्ष साहले रौतहट–३ बाट उम्मेदवारी दिएका छन् । उनीसँगै रास्वपाका धीरज पटेल, एमालेका कुन्दन कुशवाहा, कांग्रेसका रामकृपाल यादव र नेकपाकी पुनम यादवले पनि उम्मेदवारी दिएकी छिन् ।

राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष तथा पूर्वमन्त्री राजेन्द्र महतोले सर्लाही–२ बाट उम्मेदवारी दिएका छन् । यसअघि उनी २०७९ को निर्वाचनमा नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएर उठेका महेन्द्र राय यादवसँग पराजित भएका थिए ।

यस क्षेत्रबाट रास्वपाका रबिन महतो, एमालेका नागेश्वर साह, कांग्रेसका सरोज राय र नेकपाका महेन्द्र राय यादवले पनि मनोनयन दर्ता गरेका छन् ।

नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष अन्सारीले महोत्तरी–३ बाट उम्मेदवारी दिएका छन् भने राष्ट्रिय निर्माण दल नेपालका अध्यक्ष समिम मियाँ अन्सारीले बारा–४ बाट प्रतिस्पर्धा गर्दै छन् । अन्सारी नेपाल मुस्लिम आयोगका पूर्वअध्यक्ष हुन् । समुन्नत नेपाल पार्टीका अध्यक्ष रहेका खनाल बारा–४ बाट उम्मेदवार बनेका छन् ।

यसका अतिरिक्त पत्रकार ऋषि धमलाले आम जनता पार्टीबाट रौतहट–४ मा उम्मेदवारी दिएका छन् । यस क्षेत्रबाट रास्वपाका गणेश पौडेल, एमालेका रामजी साह, कांग्रेसका देवप्रसाद तिमिल्सिना, नेकपाका रामकुमार भट्टराई र जसपाका राजकुमार दास तत्मा पनि प्रतिस्पर्धामा छन् ।

विभिन्न दलका अध्यक्षहरू मधेशबाट चुनाव लड्ने भएपछि यहाँको चुनावी प्रतिस्पर्धा निकै रोचक हुने भएको छ ।

मधेशको निकै चर्चित निर्वाचन क्षेत्रमध्ये धनुषा क्षेत्र–३ हो, जहाँ एमालेकी जुली महतोले उम्मेदवारी दर्ता दिएकी छिन् । उनी त्यस क्षेत्रबाट २०७९ सालमा पनि निर्वाचित भएकी थिइन् । उनीसँगै नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र रास्वपाका प्रवक्ता मनिष झा पनि प्रतिस्पर्धामा उत्रेका छन् ।

मधेशमा प्रतिनिधिसभाका ३२ सिट छन् । २०७३ को निर्वाचनमा मधेश केन्द्रित दल जसपाले १० र लोसपाले ९ गरी सबैभन्दा बढी १९ सिट जितेका थिए । त्यस बेला कांग्रेसले ६, माओवादीले ५ र एमालेले २ सिट जितेको थियो ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमालेले १०, जसपाले ६, लोसपाले ३ र जनमत पार्टीले एउटा सिट हात पारेको थियो । त्यसैगरी नेपाली कांग्रेसले ७, नेकपा माओवादीले ३ र दुईजना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका थिए । विगतका दुईवटै निर्वाचनमा मधेशबाट एउटा सिट पनि हात पार्न नसकेको रास्वपाले यसपटक मधेशमा राम्रो मतको आशा गरेको छ ।