काठमाण्डु – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीनिकट विश्वासपात्र र नेता डा. रामबाबु गिरीले एमाले पार्टी परित्याग गरेका छन् ।
आसन्न प्रतिनिधिसभा सदस्य चुनावमा झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फबाट प्रधानमन्त्री पदका उम्मेदवार बालेन शाहलाई सघाउने घोषणा गर्दै उनले एमाले परित्याग गरेका हुन् ।
झापाको बीएण्डसी मेडिकल कलेजका अध्यक्ष समेत रहेका डा. रामबाबु गिरीको झापा जिल्लामै बलियो पकड रहेको बताइन्छ । ओलीका विश्वासपात्र मानिने र उनको निकट सल्लाहकार समेत रहेका डा. गिरीले उनलाई चुनावको मुखमा छोड्दा ठूलो झड्का लागेको छ ।
एमालेभित्र मात्रै होइन, डा. गिरीको प्रभाव झापामा माओवादी, राप्रपा लगायत राजनीतिक दलमा पनि रहेको छ भने झापा उद्योग वाणिज्य संघ र स्थानीय उद्योगी व्यापारीमा पनि उनको बलियो पकड रहेको बताइएको छ ।
एमालेबाट राजीनामा दिएको पुष्टि गर्दै उनले परिवर्तनको पक्षमा लागेको बताए । अहिले देशको दुर्दशाका लागि ओलीलाई मुख्य जिम्मेवार ठहराउँदै उनले देशको नेतृत्व अब युवा पुस्ताले गर्नुपर्ने बताए ।
झापा–५ मा अब ओलीलाई नभई बालेनलाई सघाउने र जिल्ला मात्रै होइन, प्रदेशभर रास्वपाको पक्षमा प्रचार गर्ने बताउँदै उनले परिवर्तनको घडीमा सम्पूर्ण शक्ति बालेनलाई प्रधानमन्त्री बनाउन लगाउने बताएका छन् ।




प्रतिक्रिया