नाउपा नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेज

नाउपा नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेज


काठमाण्डु – नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ ।

कैलाली जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका नाउपा नेपालका संरक्षक चौधरीको उम्मेदवारीमाथि दाबी विरोध भएपछि बिहीबार खारेज भएको हो ।

निर्वाचन अधिकृतको कार्यालयको निर्णयमा भनिएको छ, ‘नागरिक उन्मुक्ति पार्टी नेपाल (एकल चुनाव चिन्ह) का उम्मेदवार रेशमलाल चौधरीको उक्त पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम प्रतिनिधिसभा सदस्य पदको लागि हुने निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र प्रचलित कानून बमोजिम कायम रहन सक्ने अवस्थाको नदेखिदा खारेज गरिदिएको छ । कानून बमोजिम गर्नु ।’

टीकापुर घटना सम्बन्धी मुद्दामा रेशमले सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी पाए पनि प्रतिनिधिसभा निर्वाचन ऐनअनुसार जन्मकैद भएका व्यक्ति निर्वाचनमा उम्मेदवार हुन नपाउने व्यवस्था रहेको छ ।

यस्तै, काठमाण्डु निर्वाचन क्षेत्र नम्बर १० बाट उम्मेदवारी दिएका मितेरी पार्टी नेपालका उमेदवार सुमित्रा बस्नेतको मनोनयनपत्र बदर गरिएको छ ।