रास्वपा उम्मेदवार खरेललाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण, के हो कारण ?

रास्वपा उम्मेदवार खरेललाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण, के हो कारण ?


काठमाण्डु – निर्वाचन आयोगले दोलखाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका जगदिश खरेललाई निर्वाचन आचारसंहिता उल्लंघनको विषयमा स्पष्टीकरण सोधेको छ ।

माघ ६ गते उम्मेदवारी मनोनयनका क्रममा आचारसंहिता विपरीतका गतिविधि गरेको श्रव्यदृश्य (भिडियो) सामग्रीसहित उजुरी परेपछि आयोगले बिहीबार पत्र काट्दै स्पष्टीकरण मागेको हो ।

आयोगले खरेललाई निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ का विभिन्न बुँदाहरू उल्लंघन गरेको आरोप लगाएको छ । आचारसंहिताले मनोनयनका क्रममा बढीमा २५ जना मात्र सहभागी हुन पाउने व्यवस्था गरेकोमा सोभन्दा बढीको जुलुस लिएर गएको र प्रतिबन्धित रूपमा दलको झण्डा प्रयोग गरी आचारसंहिताको बर्खिलाप गरेको आरोप छ ।

आयोगका कानून अधिकृत मोहन राज जोशीद्वारा हस्ताक्षरित पत्रमा खरेललाई पत्र प्राप्त भएको मितिले ३ दिनभित्र आफैं वा प्रतिनिधिमार्फत लिखित स्पष्टीकरण पेश गर्न भनिएको छ । पत्रमा उल्लेख छ, ‘तपाईंलाई किन निर्वाचन आचारसंहिता र प्रचलित निर्वाचन कानून बमोजिम कारबाही गर्नु नपर्ने हो ?’