कर्णालीमा कांग्रेस र नेकपालाई विरासत जोगाउन चुनौती, एमालेलाई साख फिर्ता गर्नुपर्ने बाध्यता

कर्णालीमा कांग्रेस र नेकपालाई विरासत जोगाउन चुनौती, एमालेलाई साख फिर्ता गर्नुपर्ने बाध्यता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कर्णालीमा दलहरू शक्ति परीक्षणका लागि उभिएका छन् । २०७९मा भएको निर्वाचनमा नेपाली कांग्रेस र तत्कालीन नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादीसहितको गठबन्धनबाट जित निकालेका दलहरूलाई आफ्नो विरासत जोगाउने चुनौती छ भने नेकपा (एमाले)लाई आफ्नो गुमेको साख फर्काउने चुनौती छ ।

२०७४ सालमा एमाले–माओवादी गठबन्धनले कर्णाली प्रदेशबाट प्रतिनिधिसभामा नतिजाविहीन भएको नेपाली कांग्रेसले २०७९ मा तीन दलसँगको गठबन्धनमा १२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा चार सिटमा जित हात पारेको थियो ।

२०७४ मा एमाले–माओवादी गठबन्धनबाट एमालेले छ सिट र माओवादीले पाँच सिटमा जित किालेको थियो । त्यतिबेला हुम्लाबाट छक्कबहादुर लामा स्वतन्त्रबाट चुनाव जितेर पछि माओवादी केन्द्रमै फर्किएका थिए ।

२०७९ मा एकीकृत समाजवादी सहितको काग्रेस गठबन्धमा एमाले कर्णालीमा नतिजाविहीन भएको थियो । कांग्रेस र नेकपा माओवादी केन्द्रले चार/चार ठाउँमा चुनाव जित्दा एकीकृत समाजवादीले तीन र जुम्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनाव जितेको थियो ।

तर फागुन २१ मा हुन लागेको निर्वाचनबाट यसअघि जितेका चार सिट जोगाउँदै नयाँ सिटमा जित निकाल्ने कसरत कांग्रेसको छ ।

एकीकृत समाजवादी र माओवादी केन्द्रको एकताबाट बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)लाई विगतका सिट जोगाउने चुनौती छ । कर्णालीमा राप्रपा, रास्वपा र श्रम संस्कृति पार्टीसहितका नयाँ दलहरू पनि थपिएका छन् ।

काग्रेसले अघिल्लो निर्वाचन जितेको सुर्खेत-१ र २मा कांग्रेस छोडर रास्वपा प्रवेश गरेका उम्मेदवार भएकोले यी क्षेत्र जोगाउन कांग्रेसलाई निकै मेहनत गर्नु पर्नेछ ।

माओवादी केन्द्रले चुनाव जितेको कालिकोटमा माओवादी पृष्ठभूमिका खड्कबहादुर विश्वकर्मा र रुकुम पश्चिममा माओवादी केन्द्रका तत्कालीन उपमहासचिव जनार्दन शर्माले नेकपाका उम्मेदवारले चुनौती दिएका छन् ।

यसअघि गठबन्धनलाई हराउदै जित निकालेका राप्रपाका ज्ञानेन्द्र शाहीलाई रास्वपाकी विनिता कठायत र प्रलोपाका मनऋषी धिताललाई सामना गर्नु पर्नेछ ।

२०७९ को समानुपातिक मत हेर्दा कर्णालीमा एमाले पहिलो दल हो । एमालेले समानुपातिकतर्फ एक लाख ८३ हजार एक सय ३३ मत पाउँदा कांग्रेसले एक लाख ८० हजार नौ सय नौ मत पाएको थियो । तेस्रोमा रहेको माओवादी केन्द्रले पाएको मत एक लाख ३५ हजार चार सय ९६ र नेकपा (एकीकृत समाजवादी) को २५ हजार पाँच सय ५५ मत ल्याएको थियो ।

त्यतिबेलाको समानुपातिक मतमा माओवादी केन्द्र र एकीकृत समाजवादीको जोड्दा पनि एक लाख ६१ हजार ५१ मत हुन्छ ।

यस पटक कालिकोटमा र रुकुम पश्चिममा माओवादी र एकीकृत समाजवादीको भोट प्रगतिशिल लोकतान्त्रिक पार्टी र नेकपा माओवादीले काट्न सक्ने अनुमान गरिएको छ ।

कांग्रेस र एमालेका भोट रास्वपाका उम्मेदवारमा जानसक्ने अनुमानले कुन दलको स्थान के हुने हो भनेर आंकलन गर्न सहज नभएको विश्लेषकहरूले बताएका छन् ।

दलहरू एक्ला–एक्लै चुनाव लड्दा कांग्रेस र नेकपालाई अघिल्लो पटक जितेका क्षेत्र जोगाउनुपर्ने चुनौती छ भने एमालेलाई गुमेको साख फिर्ता गर्नुपर्ने बाध्यता छ ।