बालेनको वाचापत्रले भारतमा तहल्का !

बालेनको वाचापत्रले भारतमा तहल्का !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा हुन लागेको राष्ट्रिय निर्वाचनअघि चीनको महत्वाकांक्षी परियोजना बीआरआईसम्बन्धी बहस एक पटक फेरि सतहमा आएको छ ।

प्रधानमन्त्री पदका प्रमुख दाबेदार मानिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आफ्नो वाचापत्रमा झापामा प्रस्तावित नेपाल-चीन मैत्री औद्योगिक पार्कलाई समावेश नगरेपछि यो विषय बहसमा आएको हो ।

बालेनले फागुन ११ गते आफ्नै निर्वाचन क्षेत्रमा ९ बुँदे प्रतिवद्धतासहित वाचापत्र सार्वजनिक गरेका थिए ।

औद्योगिक पार्क परियोजना चिनियाँ राष्ट्रपति सी जिङपिङको बीआरआई कार्यक्रमअन्तर्गतको योजना मानिन्छ । झापाको दमक, कमल र गौरादह क्षेत्रमा २२ सय बिघामा फैलिएको यस पार्कको शिलान्यास फेब्रुअरी २०२१ मा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले गरेका थिए ।

यो मेगा परियोजना झापा–५ निर्वाचन क्षेत्रमा पर्छ, जुन ओलीको गृह निर्वाचन क्षेत्र हो । यसपटक बालेन शाहले पनि क्षेत्रमा ओलीलाई चुनौती दिएपछि प्रतिस्पर्धा रोचक बन्दै गएको छ ।

काठमाण्डुको मेयर पदबाट राजीनामा दिएर निर्वाचनमा होमिएका शाहको उम्मेदवारीले राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय रूपमा पनि चर्चाको केन्द्र बनाएको छ । शाहले औद्योगिक पार्कलाई घोषणा पत्रबाट हटाइनुले निर्वाचनमा चीनसम्बन्धी लगानी पनि बहसको विषय बनेको संकेत गरेको एक भारतीय पत्रिकाले जनाएको छ ।

ओलीको ‘ड्रिम प्रोजेक्ट’

डिसेम्बर २०२४ मा ओलीको चीन भ्रमणका क्रममा बीआरआई सहकार्यसम्बन्धी रूपरेखा सम्झौतामा हस्ताक्षर भएको थियो । जसमा झापास्थित नेपाल–चीन मैत्री औद्योगिक पार्कसहित १० वटा परियोजना सूचीकृत थिए ।

करिब ६४ अर्ब रुपैयाँ बराबरको चिनियाँ लगानी स्वीकृत भइसकेको यो पार्कमा दुई दर्जनभन्दा धेरै कम्पनीले उद्योग खोल्ने प्रतिबद्धता जनाइसकेका छन् ।

आधिकारिक वक्तव्यअनुसार झापाको दमकमा निर्माण हुने उक्त पार्कले नेपालमा औद्योगिक विकास प्रवद्र्धन गर्ने र स्थानीय रोजगारी सिर्जनामा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । ओलीले आफ्नो ४१ बुँदे निर्वाचन प्रतिबद्धता पत्रमा उक्त परियोजना सम्पन्न गर्ने वाचा दोहोर्‍याएका छन् । तर शाहले आफ्नो प्रतिज्ञापत्रमा यसलाई समावेश गरेका छैनन् ।

बालेनको यस कदमबाट भारतीय पक्ष खुसी भएको भारतीय पत्रिका नवभारत टाइम्सले उल्लेख गरेको छ ।

पत्रिकाले लेखेको छ, ‘चिकेन नेक पर भारत के लिए नेपाल से खुशखबरी, बालेन शाह ने चीन के बीआरआइको दिया झटका, ओली के मंसूबे होंगे फेल ।’

औद्योगिक पार्क परियोजनाका अध्यक्ष गोविन्द थापाले सामाजिक सञ्जालमार्फत् परियोजनामा ढिलाइ विदेशी अवरोधका कारण भएको दाबी गरेका छन् । यद्यपि उनले कुनै देशको नाम उल्लेख नगरे पनि संकेत भारततर्फ भएको रूपमा बुझिएको छ ।

उनका अनुसार यो परियोजनाको उद्देश्य सर्वसाधारणका लागि औद्योगिक वस्तु उत्पादन गर्नु हो, न कि कुनै सैन्य सामग्री निर्माण गर्नु ।

भारतको सुरक्षा चासो

झापा औद्योगिक परियोजना नेपाल–भारत सीमाको नजिक तथा भारतको संवेदनशील सिलीगुडी करिडोर (जसलाई ‘चिकेन नेक’ पनि भनिन्छ) आसपास अवस्थित छ ।

यो करिडोर भारतका पूर्वोत्तर राज्यहरूलाई बाँकी देशसँग जोड्ने साँघुरो भूभाग हो । त्यसैले उक्त क्षेत्रमा विशेषगरी चिनियाँ लगानीलाई भारतले रणनीतिक तथा संवेदनशील रूपमा हेर्ने गरेको छ ।

केही नेपाली अधिकारीहरूले भारतले अनौपचारिक रूपमा परियोजनाबारे चासो व्यक्त गरेको बताएका छन् । यद्यपि औपचारिक रूपमा कुनै सार्वजनिक वक्तव्य आएको छैन ।

झापा–५ को चुनावी प्रतिस्पर्धा केवल स्थानीय विकासको मुद्दामा सीमित नरही नेपाल–चीन–भारत सम्बन्ध, वैदेशिक लगानी नीति र रणनीतिक सन्तुलनको व्यापक प्रश्नसँग पनि जोडिएको छ ।

बालेन्द्रले प्रतिज्ञापत्रमा पार्कलाई नसमेटे पनि ओलीकै पालामा बनेको १८ तले दमक भ्यू टावरलाई भने प्रभावकारी रूपमा प्रयोगमा ल्याउने बाचा गरेका छन् ।