काठमाण्डु – निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन मतदानको कार्यलाई व्यवस्थित बनाउन सवारीसाधन सञ्चालनसम्बन्धी विशेष व्यवस्था गरेको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिअनुसार मतदानका दिन अत्यावश्यक सेवामा खटिने र संवेदनशील अवस्थाका यात्रु बोक्ने सवारीसाधनका लागि छुट्टै सवारी पास लिनुपर्ने छैन ।
आयोगले सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२ बमोजिम नेपाल सरकारलाई सिफारिस गर्दै दमकल, एम्बुलेन्स, शववाहन र खानेपानीका ट्यांकरलाई पास विना नै चल्न दिने व्यवस्था मिलाएको छ । त्यसैगरी दुध, फलफूल, तरकारी, माछा, मासु र पेट्रोलियम पदार्थ बोकेका सवारीसाधनका साथै दूरसञ्चार, विद्युत् र ढल मर्मतमा प्रयोग हुने सवारीसाधनले पनि पास बिना नै सञ्चालनको अनुमति पाएका छन् ।
अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई घरदेखि अस्पतालसम्म आवतजावत गर्न प्रयोग हुने सवारीसाधन र हवाइ यात्रु बोकेका सवारीसाधनका हकमा पनि पास आवश्यक नपर्ने आयोगले स्पष्ट पारेको छ । मानवीय संवेदनशीलतालाई मध्यनजर गर्दै हिँडडुल गर्न नसक्ने गर्भवती, सुत्केरी, किरियापुत्री, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिक बोकेका सवारीसाधनलाई समेत सहज आवागमनको व्यवस्था मिलाइएको छ ।
कूटनीतिक नियोगका सवारीसाधन, आयोगबाट परिचयपत्र प्राप्त पर्यवेक्षक, राष्ट्रिय मानव अधिकार आयोगको अनुगमन टोली र प्रेस पास भएका सञ्चारकर्मीका सवारीसाधनलाई पनि पासको झन्झट बिना नै सञ्चालन गर्न दिइने भएको छ । काठमाण्डु, भक्तपुर र ललितपुरका लागि आवश्यक पर्ने सवारी पास वितरणलाई सहज बनाउन निर्वाचन आयोग परिसरमै एकीकृत आवागमन डेस्क स्थापना गरिएको जानकारी समेत प्रवक्ता भट्टराईले दिएका छन् ।





प्रतिक्रिया