काठमाण्डु – निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि गत फागुन ३ गतेबाट सञ्चालन गरेको मतदाता शिक्षा आइतबार सकिँदैछ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम गत फागुन ३ गतदेखि मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत भएको थियो । २५ करोड लगानी गरेर बदर मत घटाउने उद्देश्यका साथ देशभर मतदाता शिक्षा सञ्चालन गरेको हो ।
सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । दलहरूले सोमबार रातिसम्म मात्र जुलुस, आमसभा र प्रचार प्रसारका कार्यक्रम गर्न पाउनेछन् ।
यसैबीच निर्वाचन आयोगले चुनावका दिन अत्यावश्यक सवारीसाधनलाई कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।
आयोगले सवारीसाधन सञ्चालनसम्बन्धी व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र अत्यावश्यक सेवामैत्री बनाउन सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२ अनुरूप पास आवश्यक नपर्ने उल्लेख गरेको छ ।
आयोगले दमकल, एम्बुलेन्स, शव वाहन खानेपानी, दूध, फलफूल, तरकारी, माछा, मासु, पेट्रोलियम पदार्थ बोकेका सवारीसाधनलाई कुनै प्रकारको पास आवश्यक नपर्ने जनाएको छ ।




प्रतिक्रिया