काठमाण्डु– एमाले अध्यक्ष केपी शर्मा ओलीले अब स्पष्ट कित्ताकाट गर्ने बेला आएको बताएका छन् । आइतबार भिडियाे सन्देश जारी गर्दै ओलीले निर्माणको बाटो रोज्ने या विध्वंसको बाटो रोज्ने स्पष्ट पार्ने बेला आएको बताएका हुन् ।
उनले सरकारलाई अपदस्थ गराउन विध्वंस मच्चाएर प्रतिनिधिसभा विघटन गराएर पुनः प्रतिनिधिसभा निर्वाचनको संघारमा आइपुगेको बताए ।
उनले ठण्डा दिमागले यो देश हामीले बचाउने कि नबचाउने भन्ने प्रश्नको जवाफ दिनुपर्ने समय आएको बताएका छन् ।
उनले भिडियोमा भनेका छन् ‘अब स्पष्ट कित्ताकाट गर्ने बेला आएको छ । तपाईं राष्ट्र जोगिनुपर्छ भन्ने पक्षमा कि राष्ट्रको भविष्य जे भए होस् भन्ने पक्षमा ? यतिबेला तपाईँले आफू कुन कित्तामा हो भनेर स्पष्ट पार्नुभएन र त्यसको लागि बोल्नुभएन भने इतिहासले होइन, तपाईं आफैँले आफैँलाई कहिल्यै माफ गर्नु हुने छैन । इतिहासले धिक्कारेको कुरा आफैँले त कसैले देख्दैन तर जिन्दगीको अन्तिम मोडतिर पुग्दा मैले त्यतिबेला बोल्नुपर्थ्यो कि पर्दैनथ्यो ? मैले त्यतिबेला आँखा र कान खोल्नुपर्थ्यो कि पर्दैनथ्यो ? मैले त्यतिबेला हातखुट्टा जुरुक्क उठाउनुपर्थ्यो कि पर्दैनथ्यो ? भनेर आफैँलाई सोध्दा त्यसको जवाफ दिने नैतिक साहस तपाईंसँग बाँकी रहोस् । मैले राष्ट्रको पक्षमा निर्णय गरेँ भन्ने आत्मसन्तुष्टि तपाईंमा रहिरहोस् ।’
थुप्रै भ्रम फैलाइएको भन्दै उनले आफूप्रतिका गुनासा र प्रश्न भएको र केही कमजोरी पनि रहेको स्वीकारेका छन् ।




प्रतिक्रिया