काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले चुनाव जीत–हारको विषय भए पनि मानवीय संवेदनाको हार हुन नहुने बताएका छन् ।
आईतबार काठमाण्डु क्षेत्र नम्बर ४ मा आयोजित नेपाली कांग्रेसको बृहत् चुनावी आमसभालाई सम्बोधन गर्दै उनले भदौ २३ गते सन्तान गुमाएकी आमाको पीडालाई चुनावी राजनीतिभन्दा माथि राख्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘हामीलाई हामी जित्छौं भन्ने विश्वास छ, अर्कोलाई अर्को जित्छ भन्ने विश्वास छ । हामी जित्न चाहान्छौं, जित्छौं पनि कांग्रेस जित्छ, बहुमत ल्याउँछ, हाम्रो कुरा हो अर्को जित्दा हामी हार्छौं, चुनावको जीत–हारको कुरा हो तर यो चुनावमा जो जिते पनि हारे पनि एउटा हार्नु हुँदैन । को हार्नु हुँदैन भने भदौ २३ गते जसले आफ्नो सन्तान गुमायो त्यो आमा यो चुनावमा हार्नु हुँदैन ।’
भदौ २३ र २४ गतेका घटनालाई लिएर राजनीतिक लाभ लिन खोजिएको आरोप लगाउँदै उनले चुनावपछि पनि पीडित परिवार एक्लो नहोस् भन्ने जिम्मेवारी सबैको भएको बताए ।
‘भदौ २३ र २४ गतेको घटनालाई लिएर यहाँ थुप्रै राजनीतिको दुकान खुलेको छ । पार्टी बनेका छन्, मानिसहरू जोडिएका छन् । ठीकै छ तर त्यो चुनाव पछि त्यो आमा एक्लै हुन्छिन्,’ उनले भने ।
यसैबिच, काठमाण्डु क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसका युवा उम्मेदवार सचिन तिमल्सेनाले चुनाव संविधान, लोकतन्त्र र देशको भविष्यसँग जोडिएको बताए ।
उनले भने, ‘चुनाव आउन ४ दिन बाँकी छ । गगन थापा दाइले पाएको माया जत्तिकै माया मैले पनि यस क्षेत्रबाट पाएको छु, त्यसका लागि धन्यवाद । यो चुनाव नेपालको संविधान, लोकतन्त्र र भविष्यका लागि अत्यन्त महत्त्वपूर्ण छ ।’




प्रतिक्रिया