काठमाण्डु – गृहमन्त्री ओमप्रकाश अर्यालले शान्ति सुरक्षाको अवस्था मजबुत बनाइएकाले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ढुक्क भएर मतदान गर्न मतदातालाई आह्वान गरेका छन् ।
गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल लगायत उच्च अधिकारीको टोली लिई निर्वाचन तयारी र सुरक्षा व्यवस्थाबारे स्थलगत निरीक्षण तथा अनुगमनका लागि बाँकेको नेपालगञ्ज हुँदै अछाम, बझाङ, बाजुरा र कैलालीको धनगढी पुगेका मन्त्री अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गर्दै मतदाताहरूलाई ढुक्क भएर मताधिकारको प्रयोग गर्न आह्वान गरे ।
मन्त्री अर्यालले निर्वाचनमा कुनै पनि किसिमको गैरकानूनी क्रियाकलाप भएमा वा गराइएमा दोषीलाई कानूनी दायरामा ल्याएर कडा कारबाही गरिने बताए । धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न र उम्मेदवारको सुरक्षालाई समेत प्राथमिकतामा राख्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिए ।
अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री अर्याललाई सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आफ्नो जिल्लाको समग्र सुरक्षा अवस्थाबारे प्रस्तुति गरे । जिल्लाको वस्तुस्थितिबारे जानकारी लिइसकेपश्चात मन्त्री अर्यालले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आफूले नेतृत्व गरिरहेको जिल्लाको सुरक्षा अवस्था विश्लेषण गरी सुरक्षा योजना प्रभावकारी ढंगले कार्यान्वयन गर्न निर्देशन दिए ।
स्थलगत अनुगमन तथा निरीक्षणपश्चात् सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री अर्यालले देशव्यापी रूपमा निर्वाचनको माहोल उत्साहजनक देखिएको बताउँदै निर्वाचनका लागि सुरक्षा तयारी सुदृढ बनाइएको जानकारी गराए ।
अनुगमनको क्रममा बाँकेको नेपालगञ्जमा भएको कार्यक्रममा जिल्लाका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतहरू, सुरक्षा निकायका लुम्बिनी प्रदेश इन्चार्जहरू, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू लगायतको उपस्थिति रहेको गृह मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले बताइन् ।




प्रतिक्रिया