काठमाण्डु– मध्यपूर्वबाट ८२ हजार बढी नेपाली नागरिकले आफ्नो विवरण दर्ता गराएका छन् । परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमा हालसम्म ८२ हजार १ सय जना नेपालीले विवरण दर्ता गराएका हुन् ।
शुक्रवार परराष्ट्र मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिदैं प्रवक्ता लोकबहादुर क्षेत्रीले अनलाइन दर्ता प्रणालीमा दर्ता भएकामध्ये करिब ६ हजार जनाले शुरुमा आफूहरू असुरक्षित रहेको जानकारी गराएको बताए।
तर पछिल्ला दिनहरूमा असुरक्षित महशुस गर्नेहरूको संख्या उल्लेख्य रूपमा घटेको उनको दाबी छ।
इजरायल, अमेरिका र इरानबीच बढ्दो तनावबीच मध्यपूर्वका विभिन्न देशबाट मन्त्रालयको आपतकालीन कक्षमा हालसम्म ७८ वटा कलसहित कुल १७० पटक सम्पर्क भएको उनले बताए। श्रम स्वीकृतिको विषयमा जानकारी लिन धेरैजसो सम्पर्क हुने गरेको उनको भनाइ छ।
यस्तै उनले इरानले होर्मुज क्षेत्रबाट एक जना नेपालीलाई पक्राउ गरेको जानकारी दिए ।
हर्मुज क्षेत्रमा पानी जहाजमा काम गर्ने क्रममा ईरानले जहाजका सबै क्रु मेम्बरलाई नियन्त्रणमा लिएको थियो। सोहि क्रममा अमृत झा नाम गरेका ती व्यक्ती पनि परेका हुन् ।




प्रतिक्रिया