काठमाण्डु – ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदुरहरूबिच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बिहीबार काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको कार्यक्रममा कार्यालय प्रमुख नवराज अधिकारीले ट्राफिक व्यवस्थापनमा सुधार हुँदै गएको बताए ।
उनले विगतको अवस्थासँग तुलना गर्दै अहिले ट्राफिक व्यवस्थापन अझ सुदृढ र प्रभावकारी बनेको उल्लेख गरे । ट्राफिक प्रहरीबाट हुने कुनै पनि अपारदर्शी वा गैरजवाफदेही व्यवहारबारे जानकारी दिन आग्रह गर्दै त्यस्तो अवस्थामा तत्काल कारबाही गरिने स्पष्ट पारे ।
उनले भने, ‘पहिले हामी कहाँ थियौं र अहिले कहाँ आइपुग्यौं भन्ने कुरा हो । हामी पहिले भन्दा अझ सुदृढ र शसक्त्त भएर ट्राफिक व्यवस्थापन गरिरहेको छौं । यदि ट्राफिक प्रहरीको व्यवहार र ट्राफिक प्रहरीले पारदर्शिता विपरीत र जवाफदेहीता विपरितका त्यस्ता काम गरेका छन् भने जानकरी दिनुहोस् । हामी त्यसमा तत्काल एक्सन लिनेछौं । नराम्रो व्यवहार गर्ने छुट कसैलाई पनि छैन । सबैले पेसागत व्यवहार अनिवार्य रूपमा गर्नुपर्छ । सुधार गर्नुपर्ने ठाउँमा गछौं पनि ।’
अधिकारीले चालकका समस्या पनि रहेको स्वीकार गर्दै यातायात व्यवसायीहरूलाई एकजुट हुन र मजदुरको हकहितमा समान धारणा बनाउन आग्रह गरेका छन् ।
अस्वस्थ प्रतिस्पर्धाले क्षेत्रलाई कमजोर बनाउने भन्दै त्यसतर्फ सचेत हुनुपर्ने उनको भनाइ थियो । चालकहरूलाई अभिमुखीकरण तथा तालिम दिन ट्राफिक प्रहरी तयार रहेको उनले बताए ।
कार्यक्रममा यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयकुमार स्वाँरले समाजमा दोहोरो प्रवृत्ति रहेको टिप्पणी गरे ।
उनले चालकबाट दुर्घटना हुने घटना भए पनि सर्वसाधारणबाट पनि चालकमाथि आक्रमण हुने गरेको उल्लेख गर्दै एकतर्फी दृष्टिकोण सही नहुने बताए ।
उनले भने, ‘हरेक कुरामा दोहोरोपन छ । हाम्रा चालकले मारेको घटनाहरू पनि छन् तर सर्वसाधारणले पनि चालकलाई मारेको छन् । समाज एकोहोर चलेको छैन । एउटा औंलाले अरुलाई देखाउँदै गर्दा ४ वटा औैंला आफूतिर नै हुन्छ । त्यो हामीले भुलेका छौं ।’
स्वाँरले चालक र परिचालकको जीवनयापन गाडीमै निर्भर रहेको भन्दै उनीहरू आफ्नो क्षेत्रप्रति संवेदनशील रहेको बताए ।
उनले चालक छान्ने कुरामा व्यवसायी सचेत हुनुपर्ने प्रश्न उठको बताउँदै भने, ‘हाम्रो लालाबालाको पढाईदेखि सबै एउटा गाडीले गर्छ । अनि हामी संवेदनशील हुँदैनौं ? आजसम्म सरकारले चालक र परिचालकलाई प्रशिक्षण गर्न कति बजेट छुट्याएको छ त ! उनीहरूलाई शिक्षा दिने काम सरकारको होइन्, हामीले त कसरी चिन्ने ? लाइसेन्स हामीले दिने हो र जिम्मा दिनु त छान्छौं चालक ।’




प्रतिक्रिया