भारतले भन्यो-लिपुलेक हुँदै कैलाश मानसरोवर जाने बाटो नयाँ नभइ पुरानै हो

भारतले भन्यो-लिपुलेक हुँदै कैलाश मानसरोवर जाने बाटो नयाँ नभइ पुरानै हो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लिपुलेक हुँदै सुरु गर्न लागिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले पठाएको कूटनीतिक नोटमा भारतले प्रतिक्रिया जनाएको छ । भारतीय विदेश मन्त्रालयले लिपुलेक हुँदै कैलाश मानसरोवर जाने बाटो नयाँ नभएको र पुरानो भएको दाबी गरेको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैयसवालले भारतको धारणा सधैं स्पष्ट र स्थिर रहेको बताउँदै लिपुलेक पास सन् १९५४ देखि नै कैलाश मानसरोवर यात्राका लागि निरन्तर प्रयोग हुँदै आएको मार्ग भएको बताएका हुन् ।

‘यो कुनै नयाँ कुरा होइन, भारतले एकतर्फी रूपमा गरिने दाबीहरू न्यायोचित नभएको र एतिहासिक तथ्य एवं प्रमाणमा आधारित नभएका कुरा निरन्तर राख्दै आएको छ’, उनले भनेका छन्, ‘यस्ता एकतर्फी दाबीहरू भारतलाई मान्य छैनन् ।’
साथै भारतले द्विपक्षीय सम्बन्धका सबै विषयहरूमा विशेष गरी सीमा विवाद समाधानका लागि संवाद र कूटनीतिमार्फत नेपालसँग रचनात्मक छलफल गर्न तयार रहेको पनि उनले जनाएका छन् ।

नेपालको परराष्ट्र मन्त्रालयले आइतबार भारत र चीनबीचको समन्वय र सहमतिमा नेपाली भूमि लिपुलेक हुँदै एकतर्फी रूपमा सुरु गर्न लागिएको मानसरोवर यात्राका सम्बन्धमा भारत र चीनलाई कूटनीतिक नोट पठाउँदै ध्यानाकर्षण गराएको थियो ।