कालापानी र सुस्ता क्षेत्रमा दुई पक्षको प्राविधिक टोलीले सिमांकन गरेको छैन : परराष्ट्रमन्त्री खनाल

कालापानी र सुस्ता क्षेत्रमा दुई पक्षको प्राविधिक टोलीले सिमांकन गरेको छैन : परराष्ट्रमन्त्री खनाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङ जिल्लामा युरेनियम धातु उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच कुनै सम्झौता नभएको बताएका छन् ।

राष्ट्रियसभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले उक्त चर्चामा कुनै सत्यता नभएको बताएका हुन् ।

उनले भने उनले भने, ‘मुस्ताङ जिल्लामा युरेनियम धातुको उत्खनन गर्न नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने सार्वजनिक चर्चाको विषयमा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु । यो क्षेत्रमा खानी उत्खनन सम्बन्धी कसैसँग कुनै प्रकारको सहमति र सम्झौता भएको छैन ।’

नेपालको संविधान २०७२ को धारा २८९ को प्राकृतिक स्रोत तथा त्यसको उपयोग सम्बन्धमा भएको व्यवस्थाप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको उनले बताए ।

उनले भने, ‘नेपालले आफ्नो असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तको प्रतिकूल हुने गरी कुनै पनि सम्झौताहरू नगर्ने विषय स्पष्ट पार्न चाहन्छु, नेपालको खानी विभागले यस विषयमा आवश्यक कदमहरू चाल्नेछ ।’

यस्तै उनले नेपाल र भारत बीचको द्विपक्षीय प्राविधिक समितिले धेरै भू–भागको सिमांकनका विषय टुङ्ग्याइसकेको बताउँदै लिम्पियाधुरा, लिपुलेक, कालापानी र सुस्ता क्षेत्रमा दुई पक्षको प्राविधिक टोलीले सिमांकन नगरेको बताए ।

उनले भने, ‘ती क्षेत्रमा दुई पक्षको प्राविधिक टोलीले सिमांकन गरेको छैन । त्यो सत्य हो, त्यो तथ्य हो । तर हामी स्पष्ट छौँ, ती भूभागहरू नेपालकै हो। हामीसँग ऐतिहासिक आधार, प्रमाण र नक्साहरू छन् ।‘यही कुरा मैले भारतका समकक्षीसँग भेट्दा पनि राखेको छु । हामीबीच भएका केही विभेद हुनु स्वाभाविक हो, तर ऐतिहासिक तथ्य प्रमाणको आधारमा हामी कूटनीतिक वार्ताबाट यो विवाद समाधान गर्न चाहन्छौँ भनेर मैले भनेको पनि छु ।’