काठमाण्डु– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी चितवनमा जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएका बोटेका परिवारलाई भेट्न पुगेकी छिन् ।
गत असार २० गते भरतपुर महानगरपालिका–२३ मा जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएका २१ वर्षीया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेका अभिभावकसँग भेट गरेकी हुन् ।
भेटमा उनीहरूलाई जीविकोपार्जनका लागि प्रतिव्यक्ति ५ लाखका दरले आर्थिक सहयोग उपलब्ध गराइएको जानकारी दिँदै मन्त्री चौधरीले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण सरकारको प्राथमिकतामा रहेको बताइन् ।
यस्तै मन्त्री चौधरीले माडी नगरपालिका–१ सेरुवाका बाघको आक्रमणबाट घाइते भई अपाङ्ग भएका सूर्य महतो तथा सोही वडाका गैँडाको आक्रमणबाट घाइते भएका मङ्गले बोटेसँग पनि भेट गरिन् ।
यस्तै सौराहास्थित हात्ती प्रजनन तथा तालिम केन्द्रलाई व्यवस्थित गरी उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिएकी छिन् ।
वार्षिक करिब २ लाख पर्यटक केन्द्रको भ्रमणमा आउने गरेकाले यसलाई अझ व्यवस्थित गर्नुपर्नेमा उनले जोड दिएकी हुन् ।
उनले प्रजनन केन्द्र तथा निकुञ्ज क्षेत्रमा रहेका हात्तीको पालनपोषण र व्यवस्थापनमा विशेष ध्यान दिन निर्देशन दिइन् । हाल केन्द्रमा ९ वटा ढोई र ७ वटा छावा छन् । त्यहाँका छावालाई हुर्काएर तालिम दिई विभिन्न कार्यमा परिचालन गर्ने गरिएको छ । निकुञ्जमा एउटा हात्तीको स्याहारका लागि ३ जनाको दरबन्दी छ ।




प्रतिक्रिया