काठमाण्डु – नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्रतिष्ठानको कामलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न ६ वटा उपसमितिका संयोजक चयन गरेको छ ।
पार्टीका उपसभापति तथा प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा असार २५ र २६ गते बसेको प्रतिष्ठानको पाँचौँ बैठकले प्रमुखको प्रस्तावमा उपसमिति संयोजकहरूको जिम्मेवारी तोक्दै विभिन्न निर्णय गरेको हो ।
निर्णयअनुसार अपाङ्गता संवाद, समन्वय तथा सशक्तीकरण उपसमितिको संयोजकमा प्रकाश पन्थ, आदिवासी जनजाति संवाद, समन्वय तथा सशक्तीकरण उपसमितिको संयोजकमा रेशम गुरुङ, दुर्व्यसनमुक्त समाजका लागि सचेतना तथा समन्वय उपसमितिको संयोजकमा डा. डीबी सुनार, पूर्व आप्रवासी समन्वय तथा अभिप्रेरणा अभियान उपसमितिको संयोजकमा विज्ञान प्रसाईं, सार्थक सम्प्रेषण उपसमितिको संयोजकमा मोहन गजुरेल तथा कृषि तथा कृषि उद्यम उपसमितिको संयोजकमा सिताराम काफ्ले चयन भएका छन् ।
पार्टीका कायममुकायम मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिअनुसार प्रतिष्ठानले नीति निर्माण, अनुसन्धान, प्रशिक्षण तथा विभिन्न विषयगत क्षेत्रमा प्रभावकारी कार्यसम्पादनका लागि उपसमितिहरू गठन गरी जिम्मेवारी बाँडफाँट गरेको जनाएको छ ।





प्रतिक्रिया