झापा – धान रोपाइँको मुख्य सिजन चलिरहेका बेला झापामा रासायनिक मलको अभाव भएको छ ।
आवश्यक परिमाणको एक चौथाइभन्दा कम मात्र मल उपलब्ध हुँदा यस वर्ष धान उत्पादनमा प्रत्यक्ष असर पर्ने सम्भावना बढेको भन्दै किसानले चिन्ता व्यक्त गरेका छन् ।
कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार जिल्लामा धानबालीका लागि १३–१४ हजार मेट्रिकटन युरिया आवश्यक पर्छ । हालसम्म करिब २ हजार ४०० मेट्रिकटन मात्र आपूर्ति भएको छ ।
करिब ८ हजार मेट्रिकटन डीएपी आवश्यक रहेकामा हालसम्म २ हजार ५०० मेट्रिकटन मात्रै उपलब्ध भएको छ ।
‘धानबालीको मुख्य समयमा आवश्यक मात्रामा रासायनिक मल उपलब्ध हुन नसक्दा किसानले समयमा मल हाल्न पाएका छैनन् । यसले बोटको वृद्धि र उत्पादन दुवैमा असर पार्ने जोखिम बढाएको छ,’ प्रमुख विष्टले भने ।
उनका अनुसार मल अभावकै कारण धेरै किसानले अर्ग्यानिक (जैविक) मल प्रयोग गरेर रोपाइँलाई निरन्तरता दिएका छन् । पछिल्ला वर्षहरूमा अर्ग्यानिक मलप्रति किसानको आकर्षण बढ्दै गए पनि यसको प्रभाव देखिन केही समय लाग्ने भएकाले तत्काल उत्पादनका लागि किसानहरू अझै पनि रासायनिक मलमै बढी निर्भर छन् ।
झापाको गौरादह–५ का किसान राजेन्द्र अधिकारीले भने, ‘रोपाइँ त सकियो तर मल नपाएपछि खेतको हरियाली कसरी जोगाउने भन्ने चिन्ता छ । समयमै मल नपाए उत्पादन घट्ने डर सबै किसानमा छ ।’
किसान मिना राजवंशीले पनि सरकारले समयमै मलको व्यवस्था गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘बीउ, श्रम र सिँचाइमा ठूलो लगानी गरिसकेका छौँ । अहिले मल नपाउँदा सबै मेहनत खेर जाने हो कि भन्ने चिन्ता लागेको छ ।’
हालसम्म जिल्लामा ६१ दशमलव ८ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भइसकेको छ । किसानले तत्काल पर्याप्त परिमाणमा रासायनिक मल आपूर्ति गर्न, वितरण प्रणालीलाई सहज बनाउन तथा वैकल्पिक मलको प्रयोगलाई थप प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन् ।




प्रतिक्रिया