सांसदहरु अराजक बन्न थालेपछि समीक्षा बाँस्कोटाले सम्झाइन् मर्यादा

सांसदहरु अराजक बन्न थालेपछि समीक्षा बाँस्कोटाले सम्झाइन् मर्यादा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सांसदहरू संसदीय समितिका बैठकमा अमर्यादित र अराजक ढंगले प्रस्तुत हुन थालेपछि प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिकी सभापति समीक्षा बास्कोटाले सदस्यहरूलाई मर्यादित भएर प्रस्तुत हुन आग्रह गरेकी छन् ।

शुक्रबार समिति बैठक सुरु गर्दै सभापति बास्कोटाले समितिमा बोलिने भाषा, प्रयोग गरिने शब्द र प्रस्तुत हुने व्यवहारप्रति सदस्यहरूलाई सचेत गराएकी हुन् । उनले छलफललाई विषयवस्तुमै केन्द्रित राख्न र आमन्त्रित व्यक्तिप्रति मर्यादित व्यवहार गर्नसमेत आग्रह गरिन् ।

पछिल्लो समय सार्वजनिक लेखा समिति बैठकमा सत्तारुढ रास्वपा सांसद खगेन्द्र सुनार र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीबीच भएको भनाभनले संसदीय समितिमा सांसदको अभिव्यक्ति र व्यवहारको विषयलाई लिएर बहस जारी छ ।

सुनारले प्रहरीको पोसाक खरिदमा अनियमितता भएको आरोप लगाउँदै आइजिपीले सिपाही र हवल्दारका जुत्ता, मोजा आएको आरोप लगाएका थिए ।

जवाफमा आइजिपी कार्कीले पनि समितिमा जे मन लाग्यो त्यही भन्ने स्थान’ नभएको भन्दै आपत्ति जनाएका थिए ।

उक्त घटनापछि सभामुख डोलप्रसाद अर्यालले चासो राख्दै बिहीबार लेखा समिति सभापति भरतबहादुर खड्का, संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय र समिति सचिव बबिता मिश्रलाई बोलाएर छलफल गरेका थिए ।

छलफलमा सभामुखले संसदीय समितिका बैठकमा सांसदहरूले संयमित, शिष्ट र मर्यादित भाषा प्रयोग गर्नुपर्नेमा जोड दिएका थिए । जनप्रतिनिधिको बोली र व्यवहारले संसद्को गरिमा झल्काउने भएकाले विषयवस्तुभन्दा बाहिर गएर वा अमर्यादित शैलीमा प्रस्तुत हुन नहुने उनको धारणा थियो ।

सभामुखको उक्त चासोपछि कानुन समितिकी सभापति बास्कोटाले पनि आफ्नै समितिका सदस्यहरूलाई बैठकको मर्यादा कायम राख्न ध्यानाकर्षण गराएकी हुन् ।

बास्कोटाले समितिमा विभिन्न मन्त्रालय, संवैधानिक तथा सार्वजनिक निकायका प्रमुखसहित जिम्मेवार पदाधिकारीहरूलाई आमन्त्रण गरिने उल्लेख गर्दै बैठकमा बोलिने हरेक शब्द र देखाइने व्यवहार आम नागरिकले समेत हेरिरहेको बताइन् ।

‘समितिमा हामीले आमन्त्रित गर्ने व्यक्तिहरू कुनै न कुनै संगठनका प्रमुख, कुनै न कुनै मन्त्रालयदेखि लिएर निकायका प्रमुख रहेर काम गरिरहनु भएको स्थिति भएकोले हामीले यहाँ बोलिने भाषा, हामीले प्रयोग गरिने शब्द र हामीले प्रयोग गर्ने व्यवहार यो सम्पूर्ण आम नागरिकले पनि हेरिराख्नुभएको हुन्छ,’ उनले भनिन् ।

उनले समितिमा विषय उठाउँदा विषयान्तर नगरी भाषा र प्रस्तुतिमा समेत संवेदनशील हुन आग्रह गरिन् ।

‘यो हिसाबले समितिमा बोल्ने विषयमा विषयान्तर नभइकन र हामीले प्रयोग गर्ने भाषामा पनि त्यत्तिकै सचेत र संवेदनशील भएर विषय उठान गर्दिनुहुन्छ भनेर सदस्यहरू र आमन्त्रित सम्पूर्ण व्यक्तित्वहरूमा हार्दिक अनुरोध गर्न चाहन्छु,’ उनले भनिन् ।

संसदीय समितिलाई सरकार तथा राज्यका निकायमाथि निगरानी गर्ने महत्वपूर्ण थलोका रूपमा लिइन्छ । समितिमा सांसदहरूले सम्बन्धित पदाधिकारीलाई प्रश्न गर्ने, जवाफ माग्ने र आवश्यक निर्देशन दिन सक्ने अधिकार राख्छन् । तर त्यस्तो अधिकार प्रयोग गर्ने क्रममा भाषा र व्यवहारको सीमा नाघ्दा समितिको गरिमा नै प्रभावित हुने भन्दै संसद् नेतृत्वले पछिल्लो घटनाक्रमलाई गम्भीर रूपमा लिन थालेको छ ।