काठमाण्डु– ५ महिना मुलुकबाहिर बसेर बिहीबार स्वदेश फर्किएलगत्तै निवर्तमान कांग्रेस सभापति एवंं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा राजनीतिक भेटघटमा सक्रिय हुन थालेका छन् ।
देउवाले शुक्रबार बिहान पूर्वमहामन्त्री डा. शशांक कोइराला र नेता डा. शेखर कोइरालासँग भेटवार्ता गरे ।
देउवालाई भेट्न कोइराला परिवारका दुई हस्ती शशांक र शेखर महाराजगन्जस्थित उनको निवास पुगेका थिए । शुक्रबार बिहान ९ः०५ देखि ९ः५० बजेसम्म देउवा निवासमा पूर्वमहामन्त्री शशांक र शेखरले देउवासँग संयुक्त भेटवार्ता गरेको एक नेताले जानकारी दिए ।
राष्ट्रिय भेला आयोजक समितिका संयोजकसमेत रहेका शशांक र शेखर दुवै देउवासँगको भेटपछि आज हुने राष्ट्रिय भेलामा सहभागी हुँदैछन् ।
उपचारका लागि गत फागुन १३ गते सिंगापुर उडेका देउवा करिब पाँच महिना सिंगापुर र हङकङमा बिताएर बिहीबार स्वदेश फर्किएका थिए । नेता कार्यकर्ताले उनलाई विमानस्थलमा भव्य स्वागत गर्नुका साथै महाराजगञ्जसम्म स्कर्टिङ गरेका थिए ।
स्वदेश फर्किएलगत्तै कांग्रेसको आन्तरिक राजनीतिमा सक्रिय भएका देउवाले आजै सुकेधारामा आयोजना हुने संस्थापन इतर समूहद्वारा आयोजित राष्ट्रिय भेलालाई विशेष सम्बोधन गर्दैछन् । देउवा पक्षले आयोजना गरेको यो भेलाको संयोजन शशांक कोइरालाले गरेका छन् ।
यसअघि देउवा पक्षका गतिविधिमा खासै सक्रिय नदेखिएका शेखर कोइराला पनि राष्ट्रिय भेलामा सहभागी हुने भएका छन् ।
राष्ट्रिय भेलाअघि देउवा र कोइराला परिवारका दुई प्रभावशाली नेताबीच भएको यो भेटलाई कांग्रेसभित्रको पछिल्लो शक्ति समीकरणका दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ । भेलालाई शेखर कोइरालाले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।




प्रतिक्रिया