दुई महिनामै टुट्यो राजा ल्याउने भन्दै मिलेका धबलशमशेर र दुर्गा प्रसाईंको सहकार्य

दुई महिनामै टुट्यो राजा ल्याउने भन्दै मिलेका धबलशमशेर र दुर्गा प्रसाईंको सहकार्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पार्टी एकताको घोषणा गरेर एउटै राजनीतिक शक्तिका रूपमा अघि बढ्ने बताएका धवलशम्शेर राणा र दुर्गा प्रसाईंबीचको सहकार्य पार्टीले संस्थागत आकार ग्रहण नगर्दै टुटेको छ ।

राणा र प्रसाईंले राजसंस्था र हिन्दु राष्ट्रको एजेन्डामा सहकार्य गर्ने भन्दै ‘जय नेपाल’ पार्टी निर्माण गर्ने घोषणा गरेका थिए । तर पार्टीको नेतृत्व, अधिकार र वरीयतालाई लिएर विवाद बढेपछि उनीहरू निर्वाचन आयोगमा दल दर्ता हुनुअघि नै अलग भएका हुन् ।

राप्रपाको महामन्त्री पद त्यागेका पूर्वसांसद राणा शुक्रबार पार्टी दर्ताका लागि निर्वाचन आयोग जाने तयारीमा छन् । नेता सगुनसुन्दर लावतीका अनुसार दिउँसो साढे १२ बजे आयोग पुगेर दल दर्ताको निवेदन दिने कार्यक्रम तय भएको छ । उनका अनुसार प्रस्तावित पार्टीको चुनाव चिह्न त्रिभुज रहनेछ ।

तर राणासँगै नयाँ पार्टी निर्माणमा लागेका प्रसाईं भने उक्त दल दर्ता प्रक्रियामा सहभागी नहुने भएका छन् । प्रसाईंले छुट्टै दल गठनको गृहकार्य गरेका छन् ।

दुवै पक्षबीच पार्टीको संरचना निर्माणकै क्रममा नेतृत्व र कार्यकारी अधिकारलाई लिएर विवाद भएको थियो। यसअघि राणा अध्यक्ष र प्रसाईं सर्वोच्च नेता रहने समझदारी थियो। तर प्रसाईंले आफूलाई थप कार्यकारी अधिकार दिनुपर्ने र पार्टीको वरीयतामा आफू पहिलो स्थानमा रहनुपर्ने अडान लिएपछि विवाद चर्किएको राणा पक्षको दाबी छ ।

अध्यक्षलाई प्राप्त हुने अधिकारसमेत प्रसाईंले प्रयोग गर्न खोजेको भन्दै राणा पक्ष असन्तुष्ट बनेको थियो । यही विवादका कारण एउटै पार्टी निर्माणको समझदारी व्यवहारमा कार्यान्वयन हुन सकेन ।

विवाद चर्किएपछि प्रसाईंले राणालाई लक्षित गर्दै सार्वजनिक रूपमा आलोचना गर्न थालेका थिए । हालै दिएको एक अन्तर्वार्तामा उनले ‘राणाहरू राजा ल्याउन चाहँदैनन्’ भन्ने आशयको अभिव्यक्ति दिएपछि दुई पक्षबीचको दूरी थप बढेको थियो ।

प्रसाईंले सामाजिक सञ्जालमार्फत छुट्टै पार्टी गठन गर्ने संकेत दिएका छन् । उनले नयाँ पार्टी सबै नेपाली नागरिक, जातजाति र धर्मको साझा पार्टी हुने दाबी गर्दै वैदिक सनातनी हिन्दु अधिराज्यसहितको व्यवस्था र पीडित नागरिकको अधिकारका लागि आफूहरू समर्पित हुने बताएका छन् ।

‘अब बन्ने हाम्रो पार्टी सबै नेपाली नागरिकहरूको, सबै जातजाति र सबै धर्मको साझा पार्टी बन्नेछ’, उनले लेखेका छन्, ‘ वैदिक सनातनी हिन्दु अधिराज्य सहितको यो पार्टी देशका पीडित, शोषित, उत्पीडित तथा आम नागरिकको हक, अधिकार र न्यायका लागि समर्पित हुनेछ ।’

राजसंस्था र हिन्दु राष्ट्रको एउटै नारामा करिब दुई महिना सहकार्य गरेका राणा र प्रसाईंबीचको सहकार्य अन्ततः पार्टी दर्ता गर्ने बेलामै संकटमा परेको छ ।