काठमाण्डु– कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले निवर्तमान सभापति शेरबहादुर देउवाले स्वदेश फर्किएपछि व्यक्त गरेको ‘परिवर्तन आत्मसात् गर्ने’ र ‘युवालाई अघि बढाउने’ भनाइलाई संस्थापनइतर समूहको शुक्रबारदेखि सुरु हुने राष्ट्रिय भेलाले केन्द्रमा राख्नुपर्ने बताएका छन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा शर्माले देउवाको लिखित अभिव्यक्तिलाई स्मरण गर्दै कांग्रेसले अहिले यही विषयलाई आत्मसात् गर्नुपर्ने बताए ।
‘उहाँको लिखित अभिव्यक्तिमा आएको छ– परिवर्तन आत्मसात् गर्ने कुरा र युवा अघि बढाउने कुरा । यो दुवै कुरामा कांग्रेस अहिले छ’, शर्माले भने, ‘उहाँ स्वयम्ले व्यक्त गरेको त्यो अभिमत अहिले हुँदै गरेको राष्ट्रिय भेलाको पनि केन्द्रमा राखियोस् ।’
गत १३ फागुनमा उपचारका लागि सिंगापुर उडेका देउवा लामो समय हङकङ बसेर बिहीबार स्वदेश फर्किएका थिए । शर्माले देउवा फर्किएपछि सबै पक्षलाई समेटेर अघि बढ्ने अपेक्षा गरेको र उनको लिखित वक्तव्यमा आएको परिवर्तन र युवा नेतृत्वसम्बन्धी धारणालाई सकारात्मक रूपमा लिनुपर्ने बताए ।
कांग्रेसको संस्थापनइतर पक्षले शुक्रबारदेखि साउन ३१ गतेसम्म काठमाण्डुको सुकेधारामा राष्ट्रिय भेला आयोजना गरेको छ । भेलाअघि पार्टी एकताका लागि भएका प्रयासबारे शर्माले केन्द्रीय समितिलाई जानकारी गराएका थिए ।
शर्माले मुलुकको नेतृत्वमा नयाँ पुस्ता अघि बढिसकेको भन्दै कांग्रेसले पनि त्यसलाई स्वीकार गर्नुपर्ने धारणा राखे । ३६ वर्षका बालेन्द्र शाह प्रधानमन्त्री रहेको प्रसंग उल्लेख गर्दै उनले गगन थापा विधि र पद्धतिबाट कांग्रेस सभापति बनेको दाबी गरे ।
‘३६ वर्षका युवा प्रधानमन्त्री भएको कुरा आत्मसात् गर्दै विधि र पद्धतीबाट कांग्रेस नेतृत्वमा आइपुगेका गगन थापालाई पनि आत्मसात् गरौं,’ उनले भने ।
गगनको नेतृत्व स्वीकार नगर्ने हो भने कांग्रेसभित्र गम्भीर प्रश्न उठ्ने शर्माको चेतावनी थियो ।
उनले मंसिरअघि नै कांग्रेसको १५औँ महाधिवेशन सम्पन्न गर्ने बताउँदै आफूहरू पार्टी एकताको पक्षमा रहेको स्पष्ट पारे ।




प्रतिक्रिया