काठमाण्डु – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार कार्य १७औँ दिनमा पनि जारी रहेको छ ।
बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत नदीको तटीय क्षेत्रमा ठूलो जनधनको क्षति हुनुका साथै घर, भवन, सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य महत्वपूर्ण पूर्वाधारमा व्यापक क्षति पुगेको छ ।
परराष्ट्र मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको परिस्थितिगत विवरणअनुसार हालसम्म १३ हजार ६७६ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ३२० भन्दा बढी विदेशी नागरिक रहेका छन् ।
मन्त्रालयका अनुसार बाढीमा अझै करिब ५ हजार १३० जना बेपत्ता छन् । बेपत्तामध्ये करिब ३५ देशका ६०० विदेशी नागरिक रहेको अनुमान छ । बाढी प्रभावित क्षेत्रबाट हालसम्म १ हजार ३८५ शव फेला परिसकेका छन् । खोज, शव प्राप्ति र पहिचानको काम निरन्तर भइरहेकाले यी तथ्यांक परिवर्तन हुन सक्ने मन्त्रालयले जनाएको छ ।
सरकारले उपलब्ध सबै स्रोतसाधन परिचालन गरी खोज, उद्धार तथा राहत कार्य जारी राखेको जनाएको छ । अन्तर्राष्ट्रिय सहयोग प्रभावकारी रूपमा परिचालन गर्न स्वदेश तथा विदेशमा समन्वयलाई थप मजबुत बनाइएको छ ।
नेपालका लागि भारत, चीन र दक्षिण कोरियाबाट आएका सुरुङ उद्धार टोलीले नेपाली सेनासँगको समन्वयमा उद्धार कार्य जारी राखेका छन् । संयुक्त अरब इमिरेट्स, मलेसियाको विशेष विपद् सहायता तथा उद्धार टोली र अस्ट्रेलियाको विपद् सहायता तथा प्रतिकार्य टोलीले पनि उद्धार अभियानमा सहयोग गरिरहेका छन् ।
प्रभावित जलविद्युत् आयोजना तथा अन्य क्षेत्रमा खोज तथा उद्धार जारी रहेको र छिमेकी तथा मित्रराष्ट्रबाट प्राप्त उपकरण, ड्रोन, भारवहन उपकरण तथा अन्य उद्धार सामग्री प्रयोग भइरहेको मन्त्रालयले जनाएको छ ।
विपद् र जटिलता ठूलो रहेकाले थप उच्च क्षमताका ड्रोन, लिडार प्रणाली, बेलिब्रिज, महामारी रोकथामका सामग्री, डीएनए परीक्षण किट, पानीमुनि प्रयोग हुने ड्रोन तथा उच्च क्षमताका पानी तान्ने पम्पलगायत विशेष उपकरण आवश्यक रहेको सरकारले अन्तर्राष्ट्रिय साझेदारलाई जानकारी गराएको छ ।
सरकारले तयार गरेको प्रारम्भिक क्षति तथा आवश्यकता मूल्यांकन प्रतिवेदनअनुसार बाढीबाट भएको कुल क्षति करिब १.८ अर्ब अमेरिकी डलर बराबर रहेको छ । बाढीबाट भएको नोक्सानी करिब ८८ करोड ३० लाख अमेरिकी डलर रहेको प्रारम्भिक अनुमान छ ।
पुनर्निर्माणका लागि करिब ४ अर्ब ७८ करोड अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरिएको छ । त्यसमध्ये आगामी ६ महिनामा गरिने अल्पकालीन पुनर्निर्माण तथा पुन:स्थापनाका लागि करिब ५ करोड ७६ लाख ७० हजार अमेरिकी डलर र दीर्घकालीन पुनर्निर्माणका लागि करिब ४ अर्ब ७१ करोड अमेरिकी डलर आवश्यक पर्ने प्रतिवेदनले देखाएको छ ।
क्षति र आवश्यकताको पूर्णविवरण निर्धारण गर्न सरकारले विपद्पछिको आवश्यकता मूल्यांकन प्रक्रिया पनि अघि बढाएको छ । प्रभावित क्षेत्रमा सडक, विद्युत् र दूरसञ्चार सेवा पुन:स्थापना तथा राहत सामग्रीको सहज आपूर्तिका लागि सरकारले काम गरिरहेको जनाएको छ ।
गल्छी–त्रिशूली सडकखण्डअन्तर्गत नुवाकोटको देवीघाटस्थित तादी नदीमा एक्रो पुल जडान कार्य सम्पन्न भई सञ्चालनमा आएको मन्त्रालयले जनाएको छ । प्रभावित क्षेत्रमा सडक सफाइ, अवरोध हटाउने तथा स्थल व्यवस्थापनको काम भने जारी छ ।
शवको अस्थायी व्यवस्थापन, डीएनए पहिचान तीव्र
बाढीबाट फेला परेका शवको आवश्यक कानुनी तथा चिकित्सकीय परीक्षण पूरा गरेपछि पहिचान र परिवारलाई हस्तान्तरण गर्न सहज हुने गरी सम्बन्धित निकायले अस्थायी रूपमा दाहसंस्कार तथा व्यवस्थापन गरिरहेको मन्त्रालयले जनाएको छ ।
शवको पहिचानका लागि नेपाल प्रहरी तथा सम्बन्धित निकायसँगको समन्वयमा भारत, चीन, जापान, सिंगापुर र दक्षिण कोरियाका न्यायिक तथा वैज्ञानिक टोलीले डीएनए नमुना संकलन, परीक्षण र पहिचानको कामलाई तीव्रता दिएका छन् ।
चीनबाट ७६८ नेपाली स्वदेश फिर्ता
चिनियाँ पक्षको सहजीकरणमा ७६८ नेपाली नागरिक तातोपानी नाका हुँदै नेपाल फर्किएका छन् ।
यसैबिच परराष्ट्र मन्त्रालयले बेपत्ता तथा प्रभावित व्यक्तिका परिवार र सम्बन्धित निकायबिच आवश्यक समन्वय तथा सहयोगका लागि आपतकालीन नियन्त्रण कक्ष सञ्चालन गरिरहेको जनाएको छ ।
सरकारले विपद्को प्रतिकार्यमा उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेको जनाउँदै विपद् र जटिलतालाई ध्यानमा राखेर अन्तर्राष्ट्रिय समुदायको निरन्तर सहयोग र ऐक्यबद्धता आवश्यक रहेको बताएको छ । मन्त्रालयले विपद्का क्रममा सहयोग गर्ने छिमेकी मुलुक, मित्रराष्ट्र, अन्तर्राष्ट्रिय संस्था, विकास साझेदार तथा सहयोगीप्रति आभार व्यक्त गरेको छ ।




प्रतिक्रिया