चेम्बर अध्यक्ष अग्रवाल र एडीबीका शिक्षा विशेषज्ञ सुबिच भेटवार्ता

चेम्बर अध्यक्ष अग्रवाल र एडीबीका शिक्षा विशेषज्ञ सुबिच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल चेम्बर अफ कमर्स (एनसीसी) अध्यक्ष कमलेश कुमार अग्रवाल र एसियाली विकास बैंक (एडीबी) का वरिष्ठ शिक्षा विशेषज्ञ जियान सुबिच भेटवार्ता भएको छ ।

शुक्रबार चेम्बर भवनमा भएको भेटवार्तामा नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम (टीभीईटी) प्रणालीलाई उद्योगको वास्तविक आवश्यकता र रोजगारीसँग जोड्ने विषयमा छलफल भएको हो ।

भेटवार्तामा अध्यक्ष अग्रवालले नेपालको उपलब्ध प्राकृतिक तथा आर्थिक स्रोतसाधनको प्रभावकारी उपयोग गर्दै युवालाई उद्योगको मागअनुसार आवश्यक सीप प्रदान गर्नुपर्नेमा जोड दिए । उनले कक्षाकोठामा मात्र आधारित तालिमभन्दा व्यावहारिक तथा कार्यस्थलमा आधारित प्रशिक्षणलाई प्राथमिकता दिनुपर्ने बताए ।

अग्रवालले सीप प्रदर्शनका आधारमा प्रमाणपत्र प्रदान गर्ने, अनौपचारिक रूपमा वा कार्यानुभवबाट हासिल भएका सीपलाई मान्यता दिने तथा टीभीईटीको पाठ्यक्रम र व्यावसायिक दक्षता निर्धारणमा निजी क्षेत्र तथा उद्योगलाई औपचारिक भूमिका दिनुपर्ने बताए ।

उद्योगको सहभागिता सल्लाहकार भूमिकामा मात्र सीमित नभई सीप पहिचान, पाठ्यक्रम निर्माण, तालिम, अप्रेन्टिससिप, मूल्यांकन, प्रमाणीकरण र रोजगारीसम्म विस्तार गर्नुपर्ने उनको भनाइ थियो ।

भेटवार्तामा एडीबीको सहयोगमा एडीबी–एनसीसी उद्योग सीप सर्वेक्षण सञ्चालन गर्ने प्रस्तावसमेत अघि सारिएको थियो । उत्पादन, निर्माण, पर्यटन, सूचना प्रविधि, ऊर्जा, कृषि तथा कृषि प्रशोधन, अटोमोबाइल, लजिस्टिक्स, ई–कमर्स तथा निर्यातमुखी उद्योगलगायत क्षेत्रमा दक्ष जनशक्तिको माग पहिचान गर्न सर्वेक्षण उपयोगी हुने चेम्बर अध्यक्षले अग्रवालले धारणा राखे ।

अध्यक्ष अग्रवालले नेपाली युवालाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको सीप प्रदान गरी स्वदेशी उद्योग, सेवा निर्यात तथा अन्तर्राष्ट्रिय रोजगारीका लागि सक्षम बनाउनुपर्ने बताए । साना तथा मझौला उद्यमका लागि साझा तालिम केन्द्र, अप्रेन्टिसशिप कार्यक्रम तथा डिजिटल तालिम प्लेटफर्म विकासमा एडीबीको सहयोग आवश्यक रहेको उनले बताए ।

महिला, ग्रामीण युवा, आर्थिक रूपमा कमजोर समुदाय तथा कम विकसित क्षेत्रका युवाको टीभीईटीमा सहभागिता बढाउन विशेष कार्यक्रम आवश्यक रहेको अग्रवालले बताए ।

टीभीईटी कार्यक्रमको सफलता तालिम लिनेको संख्या वा प्रमाणपत्र वितरणबाट मात्र नभई तालिमपछि रोजगारी दर, रोजगारदाताको सन्तुष्टि, उत्पादकत्व तथा उद्यम सिर्जना जस्ता परिणामबाट मापन गर्नुपर्नेमा पनि उनले जोड दिए ।

‘रोजगारीको परिणाम नै नेपालको टीभीईटी प्रणालीको प्रमुख कार्यसम्पादन सूचक (केपीआई) बन्नुपर्छ,’ अग्रवालले भने ।

अध्यक्ष अग्रवालले उद्योग नेतृत्वको टीभीईटी, मागमा आधारित लगानी, अप्रेन्टिससिप, डिजिटल तथा भविष्यका सीप र रोजगारीमा आधारित मूल्यांकनलाई आगामी दिनको प्राथमिकता बनाउनुपर्ने बताए । एडीबी, नेपाल सरकार तथा तालिम प्रदायक संस्थासँग सहकार्य गरी उद्योग–टीभीईटी साझेदारीलाई सुदृढ गर्न नेपाल चेम्बर तयार रहेको उनले बताए ।

भेटवार्तामा एडीबीका वरिष्ठ शिक्षा विशेषज्ञ जियान सुले नेपालमा युवाका लागि गुणस्तरीय शिक्षा, सीप विकास तथा रोजगारी सिर्जनालाई उद्योगको मागसँग जोडेर अघि बढाउनुपर्ने बताए । उद्योगको मागअनुसार व्यावहारिक सीप विकास र रोजगारीसँग जोडिएको तालिम प्रणालीले युवालाई गुणस्तरीय रोजगारीका अवसर प्राप्त गर्न सहयोग एडीबी तयार रहेको उनले बताए ।