काठमाण्डु – भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुन:स्थापनाका लागि भदौ ११–२६ गतेसम्म ४९० संस्था तथा व्यक्तिबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष २ अर्ब ७३ करोड ४६ लाख ३० हजार ६३४ र १२ लाख १५ हजार ६५४ अमेरिकी डलर सहयोग हस्तान्तरण भएको छ ।
सहयोगको सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ ।
हस्तान्तरण भएको सहयोगमध्ये ४५० संस्थागत निकायबाट २ अर्ब ६५ करोड ७४ लाख ७४ हजार ५९८ (९७.२ प्रतिशत) र ४० व्यक्तिबाट ७ करोड ७१ लाख ५६ हजार ३६ (२.८ प्रतिशत) प्राप्त भएको छ । कुल रकमको ७८.५ प्रतिशत चेकमार्फत र बाँकी नगद, भौचर तथा अनलाइन माध्यमबाट प्राप्त भएको हो । सबैभन्दा बढी सहयोग भदौ १५ गते ८५ संस्था तथा व्यक्तिबाट ५९ करोड ८७ लाख हस्तान्तरण भएको थियो ।
भदौ २६ गते मात्र २२ संस्था तथा व्यक्तिबाट ३० करोड ३२ लाख २८ हजार ७१६ र १० लाख अमेरिकी डलर हस्तान्तरण भएको छ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त प्रत्येक रकम सहयोग गर्ने निकाय वा व्यक्ति, प्राप्तिको माध्यम, मिति र सो रकमको उपयोगसम्बन्धी नेपाल सरकारको निर्णय मन्त्रालयको आधिकारिक पोर्टलमा दैनिक रूपमा अद्यावधिक गरी सार्वजनिक गरिएको छ ।
विपद्को घडीमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता प्रकट गर्दै सहयोग गर्ने सम्पूर्ण संस्था तथा व्यक्तिप्रति अर्थ मन्त्रालयले कृतज्ञता व्यक्त गरेको छ । सहयोग गर्न चाहने सबैलाई नेपाल सरकारको आधिकारिक भुक्तानी पोर्टलमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न अनुरोध गरिएको छ ।




प्रतिक्रिया