काठमाण्डु – रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुन:स्थापनाका लागि नेपाल दूरसञ्चार प्राधिकरणले संस्थागत रूपमा १५ करोड रुपैयाँ सहयोग गरेको छ ।
प्राधिकरणले सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णयअनुसार शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा चेक हस्तान्तरण गरेको हो ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको उपस्थितिमा प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले १५ करोडको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका छन् ।
भोटेकोशी नदीमा आएको बाढीबाट रसुवासहित आसपासका क्षेत्रमा जनधन तथा भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेपछि प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा पुन:स्थापनाका लागि सरकार तथा विभिन्न निकायबाट सहयोग प्राप्त भइरहेको छ ।
प्राधिकरणका अनुसार विपद्को कठिन घडीमा बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै प्रभावित क्षेत्रको पुन:स्थापना र विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय गरिएको छ ।
प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार संस्थागत सहयोगसँगै प्राधिकरणका कर्मचारी तथा पदाधिकारीबाट समेत आर्थिक योगदान गर्ने निर्णय भएको छ । विपद्बाट प्रभावित नागरिकको राहत तथा आवश्यक सहयोगका लागि कर्मचारीको तलब र पदाधिकारीको पारिश्रमिक तथा बैठक भत्ताबाट रकम योगदान गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।
निर्णयअनुसार अधिकृत प्रथम श्रेणीका कर्मचारीले सुरु तलब स्केलको ८ दिन बराबरको रकम योगदान गर्नेछन् । अधिकृत द्वितीय श्रेणीका कर्मचारीले ६ दिन र अधिकृत तृतीय श्रेणीका कर्मचारीले ४ दिन बराबरको तलब योगदान गर्ने निर्णय गरिएको छ । सहायकस्तरका कर्मचारीबाट २ दिन बराबरको तलब तथा श्रेणीविहीन कर्मचारीबाट १ दिन बराबरको तलब योगदान गरिनेछ ।
प्राधिकरणका अध्यक्षले १० दिन बराबरको तलब र २ बोर्ड बैठक भत्ता योगदान गर्ने निर्णय भएको छ । प्राधिकरणका बोर्ड सदस्यहरूले समेत २ दिनको बोर्ड बैठक भत्ता बराबरको रकम विपद् प्रभावितका लागि योगदान गर्ने निर्णय गरिएको छ ।




प्रतिक्रिया