ब्रिक्स सम्मेलन : कोदोको विशेष परिकारदेखि मिठाईसम्म, के-के छ मेनुमा ?

ब्रिक्स सम्मेलन : कोदोको विशेष परिकारदेखि मिठाईसम्म, के-के छ मेनुमा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतको राजधानी नयाँदिल्लीमा १८औँ ब्रिक्स शिखर सम्मेलन शनिबारदेखि सुरु भएको छ ।

सम्मेलनमा विश्वका प्रमुख उदीयमान अर्थतन्त्र भएका देशहरू ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिका एकै ठाउँमा भेला हुँदैछन् । सम्मेलनको एजेन्डामा बहुपक्षीय सहकार्य प्रमुख विषयका रूपमा रहने अपेक्षा गरिएको छ ।

नयाँदिल्लीस्थित भारत मण्डपममा आइतबारसम्म हुने ब्रिक्स शिखर सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका साथै शक्तिराष्ट्रका राष्ट्र तथा सरकार प्रमुखहरू सहभागी हुँदैछन् ।

साथै सम्मेलनमा विश्वका प्रमुख नेताहरू, साझेदार राष्ट्र तथा विभिन्न अन्तर्राष्ट्रिय संगठनका प्रतिनिधिहरू पनि सहभागी हुँदैछन् ।

सम्मेलनमा ११ सदस्य राष्ट्र र १० साझेदार राष्ट्रका नेतासहित विभिन्न अन्तर्राष्ट्रिय संगठनका प्रतिनिधिहरू सहभागी हुनेछन् ।

ब्रिक्स उदीयमान अर्थतन्त्र भएका देशहरूले विश्वव्यापी शासन व्यवस्थामा आफ्नो प्रतिनिधित्व बढाउन, अन्तर्राष्ट्रिय वित्तीय संस्थामा सुधार गर्न, व्यापार तथा लगानी सम्बन्ध विस्तार गर्न र दिगो विकासका लक्ष्य अघि बढाउन पैरवी गर्ने महत्वपूर्ण मञ्चका रूपमा विकसित भएको छ ।

पाक्दैछ विशेष परिकार

सम्मेलनमा सहभागी हुनेहरूका लागि विशेष प्रकारको भोजन तयार गरिँदैछ ।

ब्रिक्स सम्मेलनका लागि भारतका विभिन्न क्षेत्रका विशेष परिकारको व्यवस्था गरिएको छ । विशिष्ट अतिथिहरू बस्ने होटलहरूले भारतका विभिन्न क्षेत्रका विशेष परिकार तयार गरिरहेका छन् ।

मेनुमा कबाब, मसला हालेर तयार पारिएका ओखर, क्षेत्रीय खाजा तथा मिलेटबाट बनाइएका परिकार समावेश छन् ।
यस्तै गुलाब, केसर र अलैँचीबाट बनाइएको खान मिल्ने कमलको फूलसमेत प्रस्तुत गरिनेछ । भारतको राष्ट्रिय फूल भएकाले कमललाई उक्त परिकारको प्रतीकका रूपमा छनोट गरिएको हो ।

ताज महल होटलले भारतका विभिन्न क्षेत्रका परम्परागत खाजा तथा परिकारसँगै शेफहरूका आमाबाट प्रेरित रेसिपी समेटिएको कुकबुकसमेत प्रस्तुत गर्नेछ ।

यस्तै द लिला प्यालेसले खान मिल्ने कमलको फूल, विभिन्न प्रकारका भारतीय फलफूल तथा मिलेटबाट तयार गरिएका विशेष परिकार पाहुनालाई पस्किनेछ ।

त्यस्तै, द ललितले भारतीय लोकप्रिय परिकारसँगै ब्रिक्सका अन्य सदस्य राष्ट्रको खानाबाट प्रेरित परिकार पनि मेनुमा समावेश गरेको छ ।

होटलहरूले संगीत, सजावट तथा परम्परागत समारोहको प्रयोग गर्दै पाहुनालाई भारतीय संस्कृति र परम्परासँग परिचित गराउने तयारी गरेका छन् ।

नयाँदिल्लीस्थित द ललित होटलका कार्यकारी सोस सेफ अमित बिस्वासले पीटीआईसँग भने, ‘हामी ब्रिक्समा मिलेट (कोदो लगायतका मोटा अन्न) लाई प्रवद्र्धन गरिरहेका छौँ । प्रधानमन्त्रीले मिलेटमा विशेष जोड दिइरहनुभएको छ, त्यसैले हामी ब्रिक्समा पनि मिलेटलाई प्रवद्र्धन गरिरहेका छौँ ।’

उनका अनुसार सम्मेलनमा सहभागी धेरै पाहुना होटलमा बस्ने भएकाले बिहानको खाजाको मेनु तयार गर्दा सबैको स्वादलाई ध्यानमा राखिएको छ ।

‘हामीले मसला र परिकारको स्तर यसरी निर्धारण गरेका छौँ कि सबैले खानाको आनन्द लिन सकून्,’ उनले भने । ब्रिक्स सम्मेलन भएकाले विभिन्न प्रकारका मिठाई पनि मेनुमा राखिएको छ । मुख्य परिकारमा पनि भारतीय खानालाई भारतको मौलिक स्वादका रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको छ ।

मेनुमा भारतीय मसला, परम्परागत तरकारी तथा फार्ममा उत्पादित तरकारी प्रयोग गरिएको छ । स्थानीय उत्पादन र स्थानीय सामग्रीमा विशेष ध्यान दिइएको छ, ताकि पाहुनाहरूले भारतमा उपलब्ध स्थानीय उत्पादन र यहाँका खानाको विविधता अनुभव गर्न सकून् ।

दिल्लीस्थित द लिला प्यालेस होटलका अर्का सेफले पनि ब्रिक्स शिखर सम्मेलनको तयारीबारे भने, ‘प्रत्येक प्रतिनिधिमण्डलका लागि मेनु निकै सोचविचार गरेर तयार गरिएको छ ।’

ब्रिक्सका लागि तयार गरिएका केही परिकार

जर्मन पोटेटो एन्ड मस्टर्ड सलाद

क्यारामेलाइज्ड अनियन

मिक्स भेजिटेबल पिकल

पनिर मखनी

होम–स्टाइल छोले

पेस्टोसहित साउटे गरिएको तरकारी

अजवाइनी फिस करी