बाढीपीडितको राहतका लागि २५ किलोमिटर लामो बृहत् साइकलिङ र्‍याली हुँदै

बाढीपीडितको राहतका लागि २५ किलोमिटर लामो बृहत् साइकलिङ र्‍याली हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर – आगामी संविधान दिवसको पावन अवसर पारेर ललितपुरको महालक्ष्मी नगरपालिकास्थित काठमाण्डु शिक्षालयले हालैको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारहरूको राहत तथा सहयोगार्थ २५ किलोमिटर लामो बृहत् साइकलिङ र्‍याली आयोजना गर्ने भएको छ ।

महालक्ष्मी नगरपालिकासँगको प्रत्यक्ष सहकार्यमा आगामी असोज ३ गते शनिबारका दिन सञ्चालन हुन लागेको मानवीय सहायता अभियानले समाजमा ऐक्यबद्धता, भ्रातृत्व र सहयोगको भावना जागृत गराउने लक्ष्य राखेको छ ।

प्राकृतिक विपद्का कारण घरबारविहीन र कष्टकर जीवन बिताउन बाध्य बाढीपीडित परिवारहरूलाई तत्काल राहत सामग्री र आर्थिक सहयोग उपलब्ध गराउनु यस र्यालीको मूल ध्येय रहेको जनाइएको छ । विद्यालयका अध्यक्ष एवं प्रसिद्ध पर्वतारोही प्रकाश राज पाण्डेका अनुसार राष्ट्रिय पर्व संविधान दिवसलाई केवल औपचारिक समारोहमा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्व र मानवीय सेवासँग प्रत्यक्ष जोड्नका लागि यो रचनात्मक कदम चालिएको हो । कार्यक्रममार्फत संकलन गरिने सम्पूर्ण राहत रकम तथा सहयोग सामग्री पारदर्शी रूपमा प्रभावित क्षेत्रका पीडित परिवारहरू सम्म पुर्‍याइनेछ ।

परोपकारी अभियानमा महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । स्थानीय सरकारको अभिभावकत्व र सहकार्यले अभियानलाई थप ऊर्जा प्रदान गर्नुका साथै सामुदायिक एकतालाई अझ सुदृढ बनाउने विश्वास लिइएको छ । नगर प्रमुख श्रेष्ठको उपस्थिति र स्थानीय निकायको सक्रिय समन्वयले नगरवासीमा सामाजिक सेवाप्रतिको उत्साह र चासो बढाएको आयोजक पक्षको भनाइ छ ।

असोज ३ गते बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुने र्‍यालीमा काठमाण्डु शिक्षालयका विद्यार्थी, अभिभावक, शिक्षकका साथै नजिकका अन्य शैक्षिक संस्थाका विद्यार्थी एवं सर्वसाधारण साइकल प्रेमीहरूसहित करिब २०० जनाको सहभागिता रहने अनुमान गरिएको छ । सहभागीहरूको भौतिक क्षमता, उमेर समूह र अनुभवलाई ध्यानमा राख्दै दूरीलाई ३ फरक वर्गमा विभाजन गरिएको छ । जसअन्तर्गत १० वर्षमुनिका बालबालिकाका लागि १० किलोमिटर, १५ वर्षसम्मका किशोरकिशोरीका लागि १५ किलोमिटर र अनुभवी तथा व्यावसायिक साइकल चालकहरूका लागि पूरा २५ किलोमिटरको दूरी निर्धारण गरिएको छ ।

व्यावसायिक समूहका लागि तय गरिएको २५ किलोमिटरको रुटले महालक्ष्मी नगरपालिकाभित्र पर्ने १–१० सम्मका सम्पूर्ण वडाहरूलाई छुने गरी रेखांकन गरिएको छ । इमाडोलस्थित काठमाण्डु  शिक्षालयको प्राङ्गणबाट शुभारम्भ हुने र्‍याली कृष्ण मन्दिर, ग्वार्को, बालकुमारी पुल, खरिबोट, बोझेपोखरी, टिकाथली, बालकोट, चाँगाथली, लुभु र लामाटार बसपार्क हुँदै सुभतारा स्कूलतर्फ अघि बढ्नेछ । तत्पश्चात् भित्री बाटो हुँदै शंखदेवी मन्दिर पुगेर र्‍याली फिर्ता सवारीतर्फ मोडिनेछ । फर्किने क्रममा शंखदेवी मन्दिरको भित्री बाटो हुँदै बिसन्डोल, स्कुल चोक र महालक्ष्मी नगरपालिका कार्यालय परिक्रमा गरी पुन: काठमाण्डु शिक्षालय परिसरमै पुगेर औपचारिक रूपमा समापन हुनेछ ।

काठमाण्डु शिक्षालयले कार्यक्रमलाई केवल एउटा खेलकुद वा मनोरञ्जनात्मक साइकलिङ गतिविधिका रूपमा नभई विपद्मा परेका नागरिकप्रति हार्दिक समवेदना प्रकट गर्ने र वास्तविक सहयोग जुटाउने साझा मानवीय अभियानका रूपमा अघि बढाएको छ । यस किसिमको गतिविधिले कक्षाकोठाको चौघेराबाहिर निस्किएर विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्व, मानवीय समवेदना, सहयोग, अनुशासन र सामुदायिक सहभागिताजस्ता व्यावहारिक गुणहरूको विकास गर्न ठूलो मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ ।

‘साइकल चलाऔँ, सहयोग जुटाऔँ, बाढीपीडित परिवारलाई साथ दिऔँ’ भन्ने मूल मन्त्रलाई सार्थक बनाउन विद्यालय प्रशासनले स्थानीय सरकार, सुरक्षा निकाय, स्वास्थ्य संस्था, विभिन्न सामाजिक संघसंस्था, छिमेकी विद्यालय, अभिभावक तथा सम्पूर्ण नगरवासीसमक्ष सक्रिय सहभागिता र सहयोगको अपिल गरेको छ । कार्यक्रमलाई सुरक्षित, व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्नका लागि आवश्यक तयारी तीव्र पारिएको आयोजक समितिले जनाएको छ ।