बल्थलीमा जारी छ एमाले कार्यदल बैठक, बादल र शंकरको प्रतिवेदन मर्ज गर्ने प्रयास

बल्थलीमा जारी छ एमाले कार्यदल बैठक, बादल र शंकरको प्रतिवेदन मर्ज गर्ने प्रयास

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– निर्वाचनमा व्यहोरेको पराजयपछि पार्टी पुनर्गठनको खाका तय गर्न गठित कार्यदलले दुई फरक प्रतिवेदन तयार पारेपछि एमाले ती दुवै प्रतिवेदनलाई एउटै बनाउन छलफलमा जुटेको छ ।

सचिवलय बैठकमा उपाध्यक्ष रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेलले फरक–फरक प्रतिवेदन पेश गरेका थिए ।

बादलको प्रतिवेदनमा अध्यक्ष केपी ओलीले नेतृत्व छाड्न नहुने उल्लेख छ भने पोखरेलको प्रतिवेदनमा सातवटै प्रदेशबाट ओलीको विकल्प खोज्नुपर्ने सुझाव आएको उल्लेख छ ।

दुई प्रतिवेदनलाई एउटै बनाउने प्रयास स्वरुप नेताहरु काभ्रेको बल्थलीस्थित एक रिसोर्टमा शनिबार साँझदेखि आवासीय बैठकमा छन् । बैठकमा पार्टी पुनर्गठन, निर्वाचन समीक्षा र तल्लो तहबाट प्राप्त सुझावलाई कसरी समेट्ने भन्ने विषयमा छलफल भइरहेको नेताहरुले बताएका छन् ।

एमालेले गत २१ फागुनको निर्वाचनमा व्यहोरेको पराजयपछि पार्टीको अवस्था र आगामी दिशाबारे तल्लो तहका नेता तथा कार्यकर्ताबाट सुझाव संकलन गरेको थियो ।

३० जेठदेखि १९ असारसम्म १३ समूहबाट संकलित सुझावका आधारमा उपाध्यक्ष बादल र महासचिव पोखरेलले निर्वाचन समीक्षा, कार्यकर्ताको सुझाव र पार्टी पुनर्गठनसम्बन्धी छुट्टाछुट्टै प्रतिवेदन तयार पारेका छन् ।

पुनर्गठनको खाकामै कार्यदलभित्र फरक धारणा देखिएको छ । कार्यदलका संयोजक उपाध्यक्ष रामबहादुर थापाले महासचिव पोखरेलले तयार पारेको पुनर्गठनसम्बन्धी प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै ३९ पृष्ठको छुट्टै प्रतिवेदन प्रस्तुत गरेका छन् ।

शुक्रबार च्यासलमा बसेको कार्यदल बैठकमा दुवै प्रतिवेदन प्रस्तुत भएपछि नेताहरूले त्यसमा विस्तृत छलफल गर्न थप समय आवश्यक रहेको निष्कर्ष निकालेका थिए ।

प्रतिवेदन पुनर्लेखन गरेर एउटै बनाउने भन्दै नेताहरु आवासीय बैठकका लागि बल्थली पुगेका हुन् ।


एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले आवासीय बैठकको मुख्य उद्देश्य दुई फरक प्रतिवेदनमा रहेका विषयलाई मिलाएर पार्टी पुनर्गठनसम्बन्धी एउटै साझा दस्तावेज तयार गर्नु रहेको बताए ।

आचार्यका अनुसार नेताहरु सोमबार बैठक सकेर काठमाण्डु फर्कनेछन् ।