काठमाण्डु – जलवायु परिवर्तनका कारण नेपाल–तिब्बत सीमावर्ती क्षेत्रमा विनाशकारी बाढी निम्त्याउने हिमपहिरो तथा हिमनदीको ढलान भत्किने घटनामा योगदान पुगेको एक अध्ययनले देखाएको छ ।
गत अगस्ट २६ अर्थात् भदौ १० गते आएको विनाशकारी बाढीमा १,४०० भन्दा बढी मानिसको मृत्यु भएको छ भने झण्डै पाँच हजार अझै बेपत्ता छन् ।
लन्डनस्थित इम्पेरियल कलेजकी जलवायु वैज्ञानिक तथा अध्ययनकी एक लेखक फ्रिडेरिक ओट्टोले विपद्को पूर्वाधार कमजोर बनाउने प्रक्रियामा मानव गतिविधिबाट उत्पन्न जलवायु परिवर्तनले भूमिका खेलेकोमा ‘कुनै शंका नै नरहेको’ बताएकी छन् ।
बिहीबार सार्वजनिक गरिएको ‘वल्र्ड वेदर एट्रिब्युसन’ अध्ययनले यो विपद् बढ्दो तापक्रम, हिमनदी पातलिँदै जानु, पर्माफ्रस्ट पग्लिनु तथा पहिलेदेखि रहेका भूगर्भीय कमजोरीका कारण सिर्जित ‘संयुक्त घटनाक्रम’को परिणाम भएको जनाएको छ ।
ठूलो बाढी र पहिरोले नेपाल र तिब्बतका सीमावर्ती सहर तथा गाउँहरूमा व्यापक क्षति पुर्याउँदै हजारौँ घर बगाएको, ऊर्जा पूर्वाधारमा क्षति पु¥याएको तथा हजारौँ मानिसको मृत्यु वा बेपत्ता भएको अध्ययनमा उल्लेख छ ।
यसअघि पनि वैज्ञानिकहरूले हिमालयको नेपाली भूभागमा रहेको लाङटाङ लिरुङ हिमालको शिखरनजिकैको हिमनदीको ढलान भत्किएपछि बाढी आएको बताएका थिए ।
हिमनदीको ठूलो हिस्सा यति शक्तिशाली रूपमा उपत्यकाको तल्लो भागमा खसेको थियो कि त्यसको प्रभाव ५.२ म्याग्निच्युडको भूकम्पसरह रेकर्ड भएको अमेरिकी भूगर्भ सर्वेक्षणको तथ्याङ्कले देखाएको छ ।
‘वल्र्ड वेदर एट्रिब्युसन’ अध्ययनले जलवायु परिवर्तनलाई ‘पहिलेदेखि रहेको भूगर्भीय जोखिममाथि प्रभाव पार्ने अस्थिरता बढाउने कारक’ भनेको छ । यद्यपि, विपद्को एकमात्र कारण जलवायु परिवर्तन नभएको अध्ययनले स्पष्ट पारेको छ ।
अध्ययनअनुसार मानव गतिविधिका कारण जुलाई र अगस्ट महिनामा उक्त क्षेत्रमा तापक्रम करिब १.५ डिग्री सेल्सियस (३४.७ डिग्री फरेनहाइट) बढी थियो ।
यसैबीच, उक्त क्षेत्रमा हिमनदीहरू प्रत्येक वर्ष करिब आधा मिटर पातलिँदै गएका थिए । यसले पहिलेदेखि रहेका चिरा कमजोर बनाउनुका साथै भूभागको अस्थिरता बढाउन सक्ने अध्ययनले जनाएको छ ।
गत वर्ष अक्टोबर र नोभेम्बरमा भएको भारी हिमपातले पनि यस वर्षको सुरुवातमा ठूलो मात्रामा हिमपग्लिएको पानी जम्मा हुन योगदान पुर्याएको थियो ।
यी सबै अवस्थाको संयोजनले ‘संयुक्त घटनालाई थप तीव्र बनाउन एकअर्कासँग अन्तरक्रिया गरेको हुन सक्ने’ अध्ययनमा उल्लेख छ ।
सन् २०१५ मा उक्त क्षेत्रमा गएको ७.८ म्याग्निच्युडको भूकम्पले चट्टान–हिमपहिरो निम्त्याएको थियो । उक्त भूकम्पले जमिनमुनिको चट्टानी संरचनालाई कमजोर बनाएको हुन सक्ने अध्ययनले जनाएको छ ।
यद्यपि, अध्ययनकर्ताहरूले गत महिना भएको हिमनदी ढलान भत्किने घटनामा उक्त भूकम्पको वास्तविक प्रभाव कति थियो भन्ने यकिन गर्न नसकिएको बताएका छन् ।
अध्ययनका अर्का लेखक तथा उट्रेच्ट विश्वविद्यालयका पर्वतीय जलविज्ञानी वाल्टर इम्मरजिलले उक्त क्षेत्रलाई ‘भूगर्भीय रूपमा जोखिमयुक्त ढलान’ भएको बताएका छन् ।
इम्मरजिलका अनुसार उक्त ढलान ‘सन् २०१५ को भूकम्पका कारण सम्भावित रूपमा कमजोर बनेको’ थियो र हिमनदी तथा पर्माफ्रस्ट पग्लिँदै गएपछि थप अस्थिर बनेको थियो ।
विपद्पछि नेपाली अधिकारीहरूले जलवायु परिवर्तनसँग जुध्न विश्वव्यापी प्रयास आवश्यक रहेको बताउँदै आएका छन् । नेपाल हरितगृह ग्यास उत्सर्जनमा अत्यन्त न्यून योगदान गर्ने मुलुक भए पनि विश्वव्यापी तापक्रम वृद्धिको प्रभावका दृष्टिले सबैभन्दा जोखिममा रहेका देशमध्ये एक रहेको उनीहरूको भनाइ छ ।
प्रधानमन्त्री बालेन शाह आफ्नो पहिलो विदेश भ्रमणका क्रममा आगामी साता अमेरिकाको न्युयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुँदैछन् । उनले महासभामा हालैको विपद् र जलवायु न्यायका विषयमा नेपालको धारणा राख्ने तयारी गरेका छन् ।




प्रतिक्रिया