काठमाण्डु- फ्रान्सका ४८० भन्दा बढी सुपरमार्केटमा साइबर हमला हुँदा फ्रिज र फ्रीजरको तापक्रम ५० डिग्री सेल्सियससम्म पुगेको छ। यसले ठूलो परिमाणमा ताजा तथा फ्रोजन खाद्यवस्तु बिग्रिएको छ । केही पसलमा आगलागीसमेत भएको समाचार सार्वजनिक भएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सोमबार भएको उक्त साइबर हमलामा सुपरमार्केटका रेफ्रिजरेसन प्रणालीलाई निशाना बनाइएको थियो। ह्याकरहरूले फ्रिज र फ्रीजरलाई ‘डिफ्रोस्टिङ मोड’ मा राखिदिएपछि चिस्याउने प्रक्रिया प्रभावित भएको बताइएको छ।
डिफ्रोस्टिङ भनेको फ्रिज वा फ्रीजरमा जमेको बरफ पगाल्ने प्रक्रिया हो। यसलाई अनधिकृत रूपमा सक्रिय गराउँदा खाद्यवस्तु सुरक्षित राख्न आवश्यक तापक्रम कायम हुन सकेन।
फ्रान्सका ठूला खुद्रा व्यापार कम्पनीहरूले यसलाई गम्भीर साइबर हमला भनेका छन्। प्रभावित पसलमध्ये केही पुनः सञ्चालनमा आए पनि खाद्यवस्तु सुरक्षित राख्ने फ्रिज भने बन्द अवस्थामा राखिएको फ्रान्सेली खुद्रा व्यापार क्षेत्रका प्रतिनिधिहरूले बताएका छन्।
अनुसन्धानको आदेश
फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले राष्ट्रिय साइबर सुरक्षा निकाय एएनएसएसआईलाई घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन्।
पेरिस सरकारी वकिलको कार्यालयले पनि यसलाई व्यापक स्तरको साइबर हमला भनेको छ। प्रारम्भिक विवरणअनुसार इन्टरनेटसँग जोडिएका रेफ्रिजरेसन प्रणालीमार्फत देशका विभिन्न ठूला खाद्य खुद्रा विक्रेताका पसललाई निशाना बनाइएको थियो।
फ्रान्सले अन्य युरोपेली देशका कम्पनीहरू पनि यसबाट प्रभावित भएका छन् वा छैनन् भन्ने विषयमा अनुसन्धान गरिरहेको छ।
इन्टरनेटबाटै बदलियो फ्रिजको तापक्रम
सुपरमार्केटमा प्रयोग हुने आधुनिक फ्रिज र फ्रीजर केन्द्रीय नियन्त्रण प्रणालीबाट सञ्चालन हुन्छन्। मर्मतसम्भार गर्ने कम्पनीले इन्टरनेटमार्फत टाढैबाट पनि यस्ता प्रणालीको सेटिङ परिवर्तन गर्न सक्छन्।
साइबर अपराधीले यही पहुँचको दुरुपयोग गरेमा फ्रिजको तापक्रम, चिस्याउने प्रक्रिया र डिफ्रोस्टिङको सेटिङ परिवर्तन गर्न सक्छन्।
यस घटनामा पनि ह्याकरहरूले नियन्त्रण प्रणालीमा पहुँच बनाएर रेफ्रिजरेसन उपकरणको काम प्रभावित पारेको प्रारम्भिक विवरणमा उल्लेख छ। यद्यपि, आक्रमणको पूर्ण प्राविधिक विधि र जिम्मेवार पक्षबारे अनुसन्धानको अन्तिम निष्कर्ष सार्वजनिक भइसकेको छैन।
डेनमार्कको कम्पनीको सफ्टवेयरमा कमजोरी
फ्रान्सेली प्रधानमन्त्रीको कार्यालयका एक अधिकारीका अनुसार साइबर सुरक्षा निकायले डेनमार्कको कम्पनी ड्यानफसको सफ्टवेयरमा कमजोरी पहिचान गरेको छ। उक्त कम्पनीका प्रणाली सुपरमार्केटका फ्रिज र फ्रीजर नियन्त्रण गर्न प्रयोग हुन्छन्।
ड्यानफसले फ्रान्समा रेफ्रिजरेसन प्रणालीसँग सम्बन्धित केही घटनाबारे जानकारी प्राप्त भएको जनाएको छ। कम्पनीका अनुसार प्रभावित प्रणालीमध्ये केहीमा सफ्टवेयरको पुरानो संस्करण प्रयोग भइरहेको थियो।
कम्पनीले ग्राहकलाई सफ्टवेयर अद्यावधिक राख्न र पुराना उपकरण प्रतिस्थापन गर्न लामो समयदेखि सुझाव दिँदै आएको जनाएको छ।
यसअघि अगस्ट ९ मा साइबर सुरक्षा कम्पनी क्ल्यारोटीले ड्यानफसका प्रणालीमा रहेका केही सुरक्षा कमजोरीबारे प्रतिवेदन सार्वजनिक गरेको थियो।
उक्त प्रतिवेदनमा केही कमजोरीको दुरुपयोगबाट पर्याप्त प्रमाणीकरणबिना प्रणालीमा पहुँच पाउन सकिने जोखिम औँल्याइएको थियो। फ्रान्सको खुद्रा व्यापार क्षेत्रसँग सम्बन्धित संगठन एफसीडीले ड्यानफससँग घटनाबारे विस्तृत जानकारी सार्वजनिक गर्न माग गरेको छ।
करोडौँ युरो क्षतिको अनुमान
हमलाबाट समग्र खुद्रा व्यापार क्षेत्रमा भएको क्षतिको यकिन विवरण सार्वजनिक भएको छैन। तर फ्रान्सेली खुद्रा कम्पनी इन्टरमार्चेका प्रमुख कार्यकारी अधिकृत थियरी कोटियारले एकै दिनमा करोडौँ युरो बराबरको क्षति हुन सक्ने बताएका छन्।
इन्टरमार्चेका अनुसार प्रभावित पसलमा बिग्रिएका ताजा तथा फ्रोजन खाद्यवस्तु नष्ट गर्नुपर्ने हुन सक्छ। अर्को खुद्रा कम्पनी कोअपरेटिभ यूका प्रमुख कार्यकारी अधिकृत डोमिनिक शेल्सरले पनि आइतबार रातिदेखि नै कम्पनीको रेफ्रिजरेसन प्रणालीमा समस्या देखिएको बताएका छन्।
उनले खाद्यवस्तु सुरक्षित राख्ने र उपभोक्तासम्म पुर्याउने प्रणालीलाई निशाना बनाउनु गम्भीर विषय भएको उल्लेख गरेका छन्।
नयाँ चुनौती
यो घटनाले इन्टरनेटसँग जोडिएका भौतिक उपकरणमा साइबर सुरक्षाको जोखिम कति गम्भीर हुन सक्छ भन्ने देखाएको छ। साइबर हमला बैंक, सरकारी वेबसाइट वा व्यक्तिगत विवरण चोरीमा मात्रै सीमित छैन। खाद्य भण्डारण, आपूर्ति शृङ्खला र दैनिक उपभोगका वस्तु सुरक्षित राख्ने प्रणालीसमेत यसको निशानामा पर्न सक्छन्।
सुपरमार्केटका रेफ्रिजरेसन प्रणालीमा अनधिकृत पहुँच स्थापित गर्न सकिएमा खाद्यवस्तु नष्ट हुने, आर्थिक क्षति बढ्ने र आपूर्ति व्यवस्थामा अवरोध सिर्जना हुने जोखिम रहन्छ।
फ्रान्सेली अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेका बेला मुख्य प्रश्न भनेको ह्याकरहरूले प्रणालीमा कसरी पहुँच बनाए भन्ने भएको छ। अर्कातिर पुरानो सफ्टवेयरको कमजोरीको भूमिका र भविष्यमा यस्ता हमला रोक्न कस्ता सुरक्षा उपाय चाहिन्छन् भन्ने भएको छ।



प्रतिक्रिया