शपथ ग्रहणपछि गगन थापाको प्रतिबद्धता : कांग्रेसलाई नागरिकले विश्वास गर्ने पार्टी बनाउँछु

शपथ ग्रहणपछि गगन थापाको प्रतिबद्धता : कांग्रेसलाई नागरिकले विश्वास गर्ने पार्टी बनाउँछु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको भरोसायोग्य, वैचारिक र सामाजिक आन्दोलनको नेतृत्व गर्ने संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पार्टीको केन्द्रीय निर्वाचन समितिद्वारा शनिबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित नवनिर्वाचित पार्टी सभापतिको शपथपछि सम्बोधन गर्दै उनले लोकतन्त्र, नागरिकको गरिमा र सामाजिक न्यायलाई पार्टीका प्रमुख आधार बनाउने बताए ।

‘आगामी ४ वर्षमा पार्टीका आन्तरिक गतिविधिभन्दा नागरिकका मुद्दा र समस्यालाई प्राथमिकता दिनेछौँ, कांग्रेसलाई आजको नेपाली समाजका प्रश्नको जवाफ दिनसक्ने वैचारिक नेतृत्वका रूपमा अघि बढाउने, संगठनलाई आधुनिक बनाउने छौँ, युवादेखि किसानसम्मलाई सामाजिक आन्दोलनमा जोड्ने योजना छ, पार्टीभित्र सहमत र असहमत सबै पक्षलाई समेटेर अघि बढ्ने तथा नेतृत्वलाई पारदर्शी र जवाफदेही बनाउने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु,’ उनले भने ।

सभापतिको पद अधिकार नभई जिम्मेवारी भएको उल्लेख गर्दै आफूबाट गल्ती भए त्यसको भार पार्टीले बोक्न नहुने उनको भनाइ छ । उनले व्यक्तिका कमजोरीको जिम्मेवारी सम्बन्धित व्यक्तिले नै लिनुपर्ने स्पष्ट पारे ।

हालैको प्राकृतिक विपत्तिका कारण धेरै परिवार शोक र अभावमा रहेकाले यस वर्ष दसैँलाई तडकभडक पूर्ण रूपमा नमनाउने कांग्रेसको निर्णय रहेको उनले जानकारी दिए । विपत्तिबाट प्रभावित तथा आफन्त गुमाएका परिवारसँग जोडिएर चाड मनाउन र सामाजिक सद्भाव कायम राख्न उनले पार्टीका नेता–कार्यकर्ता तथा आमनागरिकलाई आग्रह गरे ।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले छोटो समयमा तय भएको कार्यतालिकाका आधारमा पनि निर्वाचन सम्पन्न भएको भन्दै नेपाली कांग्रेसको इतिहासमा नै १६५ निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भएर केन्द्रीय महाधिवेशन हुन सफल भएको जानकारी गराएका छन् ।

उनले नवनिर्वाचित सभापति थापालाई देशमा बढ्दै गएको राजनीति अनुशासनहीनतालाई सही दिशामा ल्याउन, सार्वभौम सत्ताको संरक्षणमा लाग्न, सम्मानपूर्वक बाँच्न पाउने अधिकारको संरक्षण र मानव अधिकारको रक्षा गर्न सक्षम हुने गरी अगाडि बढ्न आग्रह गरेका छन् ।