काठमाण्डु – पाकिस्तान, कतार, टर्की र इन्डोनेसियाले रक्षा उत्पादन तथा सैन्य क्षमता अभिवृद्धिका लागि बहुपक्षीय रक्षा सहकार्य सम्झौतामा हस्ताक्षर गरेका छन् ।
टर्कीको रक्षा मन्त्रालयका अनुसार बुधबार कतारमा ४ देशका रक्षामन्त्री तथा उच्च अधिकारीहरूको उपस्थितिमा सम्झौतामा हस्ताक्षर भएको हो ।
सम्झौतामा पाकिस्तानका तर्फबाट रक्षामन्त्री ख्वाजा आसिफले हस्ताक्षर गरेका छन् ।
‘बद्र मेमोर्यान्डम अफ अन्डरस्ट्यान्डिङ’ नाम दिइएको सम्झौताको उद्देश्य ४ देशबिच रक्षा सहकार्य विस्तार र सैन्य क्षमतालाई सुदृढ बनाउनु रहेको टर्किस रक्षा मन्त्रालयले जनाएको छ ।
सम्झौताअन्तर्गत सैन्य उत्पादन, प्राविधिक तालिम, अनुसन्धान तथा विकास र रक्षा प्रविधिमा सहकार्य गरिने भएको छ । ४ देशका आ–आफ्ना रक्षा उत्पादन क्षमता उपयोग गर्दै संयुक्त परियोजना सञ्चालन गर्ने तथा रक्षा उद्योगको क्षमता विस्तार गर्ने लक्ष्य पनि सम्झौताले राखेको छ ।
सम्झौतामा टर्कीका रक्षामन्त्री यासार गुलेर, कतारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री शेख साउद बिन अब्दुलरहमान र इन्डोनेसियाका उपरक्षामन्त्री युसुफ जौहारीले पनि हस्ताक्षर गरेका छन् । टर्कीको रक्षा उद्योग सचिवालयका प्रमुख हालुक गोर्गुन पनि हस्ताक्षर समारोहमा सहभागी थिए ।
सम्झौताले संयुक्त उत्पादन र प्रविधि विकासका लागि रणनीतिक सहकार्यको आधार तयार गर्ने गोर्गुनले बताएका छन् । उनका अनुसार प्रविधि आदानप्रदान, संयुक्त विकास तथा घरेलु उत्पादन क्षमता सुदृढ बनाउनु दिगो रक्षा उद्योगका मुख्य आधार हुन् ।
उनले ४ देशका पूरक सैन्य तथा औद्योगिक क्षमतालाई ठोस परियोजनामा रूपान्तरण गर्न सम्झौताले सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन् । पछिल्लो समय पाकिस्तानले कतार र टर्कीसँगको कूटनीतिक तथा रक्षा सम्बन्धलाई थप विस्तार गरिरहेको छ । पाकिस्तान र टर्की साउदी अरेबियासँगै मक्का रक्षा गठबन्धनका सदस्य पनि हुन् ।
गठबन्धनअन्तर्गत सदस्य राष्ट्रमध्ये कुनै एकमाथि आक्रमण भए त्यसलाई सबै सदस्यमाथिको आक्रमणका रूपमा लिने व्यवस्था गरिएको छ ।
पाकिस्तान र कतारले अमेरिका–इरान युद्धमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएका छन् । पाकिस्तान र टर्की साउदी अरेबिया तथा इजिप्टसँगै क्षेत्रीय ४ राष्ट्र समूह (आर४) मा पनि सहभागी छन् ।
यसैबिच पाकिस्तान र इन्डोनेसियाबिच पनि रक्षा सम्बन्ध विस्तारका प्रयास भइरहेका छन् । गत महिना इन्डोनेसियाका नौसेना प्रमुख एडमिरल मुहम्मद अलीले पाकिस्तानका सेना प्रमुख आसिम मुनिरसँग भेटवार्ता गरेका थिए ।
भेटमा व्यावसायिक तालिम, रक्षा सहकार्य र संयुक्त सैन्य अभ्यासलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो ।
सम्झौताबारे पाकिस्तानको विदेश मन्त्रालयले अझैसम्म औपचारिक प्रतिक्रिया दिइसकेको छैन ।


प्रतिक्रिया