काठमाण्डु-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि फेरि आक्रमण गर्ने विकल्पमाथि विचार गरिरहेका बेला अमेरिकाले मध्यपूर्वका विभिन्न सैन्य अखडाबाट आफ्ना सैनिकलाई अन्यत्र सार्न थालेको छ।
यसका साथै, त्यस क्षेत्रका केही कूटनीतिक नियोगबाट कर्मचारी र उनीहरूका परिवारलाई अमेरिका फिर्ता बोलाउने प्रक्रिया अघि बढाइएको छ।
अमेरिकी समाचार संस्था एनबीसी न्युजका अनुसार जोर्डन, कतार र कुवेतमा तैनाथ अमेरिकी सैनिकलाई अन्यत्र सार्न थालिएको छ। यद्यपि, अमेरिकाले हवाई प्रतिरक्षा र सुरक्षा जिम्मेवारी सम्हाल्ने केही सैनिकलाई त्यहाँका सैन्य अखडामै राख्ने तयारी गरेको छ।
बुधबार सार्वजनिक रिपोर्टअनुसार, अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) र विदेश मन्त्रालयले यसअघि फेब्रुअरीमा इरानमाथि आक्रमण गर्नुअघि पनि यस्तै तयारी गरेका थिए। सम्भावित इरानी प्रत्याक्रमणबाट अमेरिकी सैनिकलाई जोगाउन त्यसबेला जोखिमका सैन्य अखडाबाट ठूलो संख्यामा सैनिक हटाइएको थियो।
अमेरिकी सेनाको केन्द्रीय कमान्डका प्रवक्ता टिमोथी हकिन्सले सैनिक स्थानान्तरणबारे टिप्पणी गर्न अस्वीकार गरेका छन्।
अमेरिकी सेनाले अभियानको तयारी प्रभावकारी बनाउन नियमित रूपमा सैनिकको स्थान परिवर्तन गर्ने र अमेरिकी कर्मचारी तथा हितको रक्षा गर्न तयार रहेको उनले बताएका छन्।
इरानमाथि आक्रमणका विकल्प पेस
एनबीसीका अनुसार वरिष्ठ अमेरिकी सैन्य अधिकारीहरूले इरानमाथि पुनः आक्रमण गर्न सकिने विकल्प ट्रम्पसमक्ष प्रस्तुत गरेका छन्। ती विकल्पमा इरानका आणविक केन्द्र, भूमिगत संरचना र रणनीतिक टापुमा आक्रमण गर्ने योजना समावेश छन्।
इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापु र स्ट्रेट अफ होर्मुजमा अवस्थित केश्म टापुलाई पनि सम्भावित निशानाका रूपमा प्रस्तुत गरिएको रिपोर्टमा उल्लेख छ।
अमेरिकी युद्धमन्त्री पिट हेगसेथसहित ट्रम्पका केही सल्लाहकारले तेहरानमाथि दबाब बढाउन सैन्य कारबाही फेरि सुरु गर्नुपर्ने पक्षमा मत राखेको बताइएको छ। तर, स्पष्ट लक्ष्यबिना अर्को ठूलो सैन्य अभियान सञ्चालन गर्दा जोखिम बढ्ने भन्दै केही सल्लाहकारहरूले सावधानी अपनाउन आग्रह गरेका छन्।
हेगसेथले सोमबार इजरायलको अघोषित भ्रमण गरी प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग बन्द कोठामा छलफल गरेका थिए।
साउदीबाट पनि अमेरिकी कर्मचारी फिर्ता
यमनका हुथी विद्रोहीले साउदी अरबका विमानस्थल तथा अन्य महत्त्वपूर्ण पूर्वाधारमा आक्रमण तीव्र बनाएपछि अमेरिकी विदेश मन्त्रालयले साउदी अरबस्थित आफ्ना गैरआवश्यक कर्मचारी र उनीहरूका परिवारलाई देश छाड्न निर्देशन दिएको छ।
यसअघि रोयटर्सले खाडी क्षेत्रका अन्य अमेरिकी कूटनीतिक नियोगबाट पनि कर्मचारी फिर्ता बोलाउने तयारी भइरहेको जनाएको थियो। तर अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टमी पिगटले थप कर्मचारी फिर्ता बोलाउने विषयमा सार्वजनिक भएका केही रिपोर्टलाई ुगलतु भनेका छन्।
तर ट्रम्पले चुनावअघि आक्रमण नगर्ने बताएका थिए। ट्रम्पले यसै महिनाको सुरुमा नोभेम्बर ३ मा हुने अमेरिकी मध्यावधि निर्वाचनअघि इरानमाथि आक्रमण नगर्ने बताएका थिए। तर, कूटनीतिक प्रयास असफल भए सैन्य बल प्रयोग गर्ने विकल्प खुला रहेको उनको भनाइ थियो।
उता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि अक्टोबर २७ मा हुने इजरायली संसदीय निर्वाचनअघि नयाँ आक्रमण नगर्ने बताएका छन्। तर, आइतबार उनले अमेरिका सहभागी नभए पनि इरानमाथि आक्रमण गर्न इजरायल तयार रहेको घोषणा गरेका थिए।
फेब्रुअरी २८ मा सुरु भएको अमेरिका–इजरायल र इरानबीचको युद्धले विश्व ऊर्जा बजार र स्ट्रेट अफ होर्मुज हुँदै हुने जलमार्ग व्यापार प्रभावित बनाएको छ।
इरानले अमेरिकी नौसैनिक नाकाबन्दी हटाउन, तेलमाथिका प्रतिबन्ध खुकुलो पार्न र व्यापक युद्धविराममा सहमति जनाउन अमेरिकालाई प्रस्ताव गरेको छ। त्यसो भए सात दिनभित्र होर्मुज जलमार्गमा सामान्य आवागमन पुनःस्थापित गर्न सकिने तेहरानको भनाइ छ।
तर ट्रम्पले इरानको प्रस्तावलाई ुअस्वीकार्यु बताएका छन्। वार्ताबाट सहमति जुट्न नसकेको अवस्थामा सैन्य दबाब बढाएर इरानलाई अमेरिकी सर्त स्वीकार गराउने कि नगराउने भन्नेमा वासिङ्टनमा छलफल जारी रहेको रिपोर्टमा उल्लेख छ।
आरटी र एनबीसीको रिपोर्टमा आधारित ।



प्रतिक्रिया