पोखरा- गत पुस मसान्तममा भएको दोस्रो विशेष महाधिवेशनबाट कांग्रेस सभापतिमा निर्वाचित भएपछि गगनकुमार थापाले पार्टीलाई परिवर्तनको मार्गमा डोर्याउने प्रयत्न गरिरहेका छन् ।
आमसर्वसाधारणले नरुचाएका पुराना पुस्ताका नेताहरूको कार्यशैलीको निरन्तरता आफूहरूमा र पार्टी वृत्तमा नदेखियोस् भन्नेमा थापा सचेत देखिन्छन् । जुन उनका सार्वजनिक अभिव्यक्तिहरूले पुष्टि गरिरहेका छन्।
समाजले खोजेको नेतृत्व र कांग्रेस कस्तो हो भन्नेबारेमा उनले खुलैरै धारणा राख्ने गरेका छन् । २०८२ भदौ २३ र २४ मा नवयुवाले गरेका जेन-जी जनविद्रोहबारे पनि अघिल्लो पुस्ताका नेताहरूको भन्दा उनको फरक धारणा रहँदै आएको छ।
उनले असोज तेस्रो साता भएको कांग्रेसको १५औँ महाधिवेशनमा प्रस्तुत गरेको ‘राष्ट्रिय पुनर्जागरण तथा समुन्नति’ सम्बन्धी राजनीतिक प्रस्तावले पार्टीको विगतको समीक्षा गर्दै आगामी राजनीतिक, आर्थिक, सामाजिक र वैचारिक कार्यदिशाको खाका अघि सारेका थिए ।
प्रस्तावले २०६२/६३ को जनआन्दोलन, शान्ति प्रक्रिया र संविधान निर्माणलगायतका ऐतिहासिक उपलब्धिमा कांग्रेसको भूमिकालाई स्वीकार गर्दै त्यसपछिको राजनीतिक यात्रामा पार्टी सत्तामुखी, गुटबन्दी र गठबन्धन केन्द्रित बन्दै गएको निष्कर्ष निकालेको थियो। सत्ता प्राप्ति र पद बाँडफाँडमा केन्द्रित राजनीतिका कारण कांग्रेस र नागरिकबीच दूरी बढेको प्रस्तावमा उल्लेख थियो।
यही कमजोरी सच्याउँदै थापाले अब निर्वाचनपूर्व कुनै पनि दलसँग गठबन्धन नगर्ने र आफ्नै विचार, संगठन तथा ‘रुख’ चिह्नका आधारमा जनतामाझ जाने राजनीतिक दिशा अघि सारेका थिए।
प्रस्तावमा २०८२ भदौमा भएको युवा विद्रोह र त्यसपछिको निर्वाचन परिणामलाई नेपाली समाजमा आएको गहिरो राजनीतिक तथा सामाजिक परिवर्तनको संकेतका रूपमा विश्लेषण गरिएको थियो ।
कांग्रेसलाई निर्वाचनका बेला मात्रै सक्रिय हुने पार्टी नभई नागरिकका दैनिक समस्या र राष्ट्रिय मुद्दामा निरन्तर जोडिने जनमुखी संगठनका रूपमा विकास गर्नुपर्ने प्रस्तावको निष्कर्ष थियो।
थापाको प्रस्तावको मूल सन्देश कांग्रेसले सत्ता प्राप्तिलाई राजनीतिको केन्द्रबाट हटाएर विचार, संगठन, सुशासन, आर्थिक समुन्नति र नागरिकसँगको सम्बन्धलाई प्राथमिकतामा राख्दै आफूलाई नयाँ राजनीतिक शक्तिका रूपमा पुनःस्थापित गर्नुपर्ने भन्ने थियो
महाधिवेशनमा अबको कांग्रेसलाई सशक्त प्रतिपक्ष, जिम्मेवार राजनीतिक शक्ति र नागरिकको सुख–दुःखसँग जोडिएको जनमुखी पार्टीका रूपमा अघि बढाउँदै ‘समुन्नत नेपाल, सम्मानित नेपाली’को लक्ष्य हासिल गर्ने दिशामा पार्टीलाई पुनर्गठित गर्ने प्रस्तावको मूल कार्यदिशा तय गरिएको थियो ।
महाधिवेशनको त्यही दस्तावेजअनुसार पोखरास्थित बीपी स्मृति पुस्तकालयले मंगलबार गरेको कार्यक्रममा सभापति थापाले पुरानो सोच र कार्यशैली सुधार्न जरुरी रहेकामा जोड दिए ।
उनले नेता आउँदा विमानस्थलमा फूलमाला बोलेर स्वागतमा जाने प्रवृत्तिले अब निरन्तरता पाउन नहुने बताए । जुन जनताले नरुचाएको उनको भनाइ थियो । आफू आउँदा विमानस्थलमा स्वागतका लागि नआउन थापाले नेता कार्यकर्ताले निर्देशन दिए ।
‘नेता आउँदा लाइन लागेर स्वागतका लागि खादामाला लिएर विमानस्थल आउने होइन,’ थापाले भने, ‘नेतालाई स्वागत गर्न आउनेको भिड देख्दा मानिसहरूलाई दिक्क लाग्छ ।’
पार्टी कार्यक्रमका सिलसिलामा स्याङ्जा जाने क्रममा थापा सोमबार पोखरा विमानस्थल ओर्लिएका थिए । विमानस्थलमा नेता-कार्यकर्ता उनको स्वागतमा जम्मा भएका थिए ।
एक वृद्धले सडक छेउमा उभिएर आफूलाई स्वागत गर्न आउनेहरूको गाडी गनेको प्रसंग थापाले सुनाए । ‘एकजना वृद्ध कांग्रेस सभापति आएको भनेर बाटोमा उभिएर गाडी गन्दै हुनुहुन्थ्यो’, थापाले भने, ‘२१, २२, २३ भनेर । गनेको के भन्दा गाडी, गाडीका ताँती । यस्ता साना कुरा हुन् तर बदल्नुपर्छ ।’
थपाले नेता पनि आमनागरिक भएको उल्लेख गर्दै यात्रा गर्दा सडकमा मानिसहरूसँग कुरा गर्न र उनीहरूका भावना र आकांक्षा सुन्न पाउने वातावरण हुनुपर्नेमा जोड दिए ।
‘हामी नेता मात्र होइनौँ, हामी आमनागरिक पनि हौँ । बाटामा हिँड्दा हामीले हामी मानिससँग कुरा गर्न र उनका कुरा सुन्न पाइयोस्’, उनले भने । थापाले नेता भेट्न आएका भुइँ तहका कार्यकर्ता र जनतालाई नेताका नजिककाले ठेल्ने प्रवृत्ति अब अन्त्य हुने बताए ।
फरक प्रसंगमा सभापति थापाले कांग्रेसका कोही पनि केन्द्रीय सदस्य काठमाण्डु बस्न नपाउने गरी निर्णय गरिने उल्लेख गरे । आगामी केन्द्रीय कार्यसमिति बैठकबाट सबै केन्द्रीय सदस्यलाई गाउँ पठाउने गरी कार्ययोजना ल्याइने सुनाए ।
सोमबार मात्रै स्याङ्जामा आयोजित कार्यक्रममा थापाले आगामी मंसिर महिनाभित्रै कांग्रेसबाट टाढिएका परिवार तथा मतदाताको घरसम्म पुग्ने अभियान सञ्चालन गर्न नेता-कार्यकर्तालाई आग्रह गरे। ‘पहिले कांग्रेसमा रहेका तर अहिले पार्टीमा नरहेका परिवारलाई भेट्नुपर्छ, चिन्नुपर्छ र उनीहरूको घरमा पुग्नुपर्छ,’ उनले भने।
कांग्रेसबाट टाढिएका करिब १० लाख मानिससम्म पुग्ने लक्ष्यसहित पार्टीले काम गर्नुपर्ने पनि थापाले बताए। पार्टीका संस्थापक नेताहरूले स्थापित गरेका मूल्य र मान्यताबाट विचलित नभई वर्तमान समयका चुनौती र युवापुस्ताका प्रश्न सम्बोधन गर्न सक्ने कांग्रेस निर्माण गर्नुपर्ने उनको भनाइ थियो।
कांग्रेसलाई रि-ब्रान्डिङको योजनासहित थापाले आगामी स्थानीय तह निर्वाचनका उम्मेदवार डिजिटल मतदान प्रक्रियाबाट चयन गर्ने सोमबार नै घोषणा गरेका छन्। चुनाव हुनुभन्दा दुईदेखि तीन महिनाअघि नै डिजिटल मतदान प्रक्रियाबाट चयन गर्ने तयारीमा कांग्रेस लागेको थापाले सुनाए ।
यसअघि रास्वपाले यस्तै शैली अपनाएको थियो । रास्वपामा स्थानीय तहका उम्मेदवार चयनका लागि ‘क्याण्डिडेट क्लब’ मार्फत उम्मेदवारका आकांक्षीले आवेदन दिइरहेका छन् । सभापति थापाले उम्मेदवार छनोटको नयाँ व्यवस्था आगामी निर्वाचनबाटै कार्यान्वयन गरिने बताए ।
‘अब उम्मेदवार छनोटमा विगतको टिकट वितरण शैलीलाई निरन्तरता दिइने छैन’, थापाले भने, ‘अब चुनावको दुई-तीन महिनाअघि नै उम्मेदवारको टुंगो लाग्छ, त्यो पनि डिजिटल मतदानबाट।’


प्रतिक्रिया