काठमाण्डु – दुई महिना अघि भोटेकोशी बाढीले पुर्याएको विनाशकारी क्षतिको अवलोकन गर्न स्विटजरल्याण्ड र जर्मनीका टोली नेपाल आउने भएका छन् ।
गत भदौ १० मा आएको विनाशकारी बाढीले पुर्याएको क्षतिको अवलोकन गर्न स्विस र जर्मन प्रतिनिधिहरू काठमाण्डु आउने लागेको हो ।
स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पिएर–आन्द्रे पेज संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नोभेम्बर २ मा नेपाल आउँदै छन् ।
यस्तै जर्मनीको आर्थिक सहयोग तथा विकाससम्बन्धी संसदीय राज्यमन्त्री बार्बेल कोफ्लर बुधबार नै काठमाण्डु आउँदै छिन् ।
चार दिने भ्रमणमा उनी नेतृत्वको टोलीले बाढीको प्रभाव र प्रभावित क्षेत्रको मानवीय अवस्थाबारे जानकारी लिन नुवाकोट जिल्लाको भ्रमण गर्ने छ ।
दुवै टोलीलेभोटेकोशी बाढीमा केन्द्रित भएर स्थलगत अध्ययन गर्नुका साथै यससँग सम्बन्धित अन्य विषयमा सरकारका प्रतिनिधिहरूसँग भेटवार्ता गर्नेछन् ।
परराष्ट्र मन्त्रालयका अनुसार स्विस टोलीमा त्यहाँको राष्ट्रिय परिषद्का सदस्य रोलान्ड रिनो बुचेल, कोरिना ग्रेडिग र जर्जियो फोनियो तथा राष्ट्रिय परिषद्, संसदीय सेवाका सचिव पिएर–हर्भे फ्रेलेसो र संसदीय सेवाको अन्तर्राष्ट्रिय मामिलासम्बन्धी राजनीतिक सल्लाहकार सारा पाल्मा रहने छन् । उनीहरूले सरकारी अधिकारीहरूसँग भेटघाट गर्नुका साथै हालैको बाढीले पुर्याएको क्षतिको अवलोकन गर्न नुवाकोट पुग्ने छन् ।
काठमाण्डुस्थित जर्मनी दूतावासले जारी गरेको विज्ञप्तिअनुसार जर्मन राज्यमन्त्री नेतृत्वको टोलीले नेपाल र जर्मनीबीचको सहकार्यबारे विस्तृत जानकारी लिने तथा महिला अधिकार, स्वास्थ्य र भोटेकोशी बाढीको प्रभावसम्बन्धी विषयमा नेपाल सरकारका प्रतिनिधिहरूसँग कुराकानी गर्ने छ । जर्मन सरकारले भोटेकोशी बाढीलगत्तै नेपाल सरकारलाई १ करोड १० लाख ६१ हजार युरो उपलब्ध गराएको थियो ।


प्रतिक्रिया