स्पेन- स्पेनमा दुई उच्च गतिको रेल आपसमा ठोक्किँदा कम्तीमा ३९ जनाको मृत्यु भएको खबर सार्वजनिक भएको छ।
दुर्घटनामा दर्जनौँ व्यक्ति घाइते भएका छन्। उद्धारकर्मीहरूले घटनास्थलमा राहत तथा उद्धार जारी राखेका छन्।
बुधबार स्थानीय समयअनुसार बिहान ९ बजेको केही समयपछि टोलेडो प्रान्तमा दुर्घटना भएको हो। दुर्घटनामा स्पेनका दुई रेल सञ्चालक कम्पनी रेन्फे र इर्योका उच्च गतिको रेल संलग्न थिए।
कास्टिला–ला मान्चा क्षेत्रीय सरकारका प्रवक्ताका अनुसार ठक्करपछि रेलका दुई डिब्बा लिकबाट बाहिरिएका थिए। दुर्घटनाको कारण र हताहतीको वास्तविक संख्या पत्ता लगाउने काम भइरहेको उनले बताएका छन्।
समाचार संस्था स्काई न्युजलाई उद्धृत गर्दै सार्वजनिक विवरणमा दुर्घटनामा कम्तीमा ३९ जनाको मृत्यु भएको उल्लेख छ। यसअघि क्षेत्रीय सरकारकी प्रवक्ता एस्थर पाडिल्लाले १० जनाको मृत्यु पुष्टि भएको बताएकी थिइन्।
रेल पूर्वाधार सञ्चालक एडिफका अनुसार दुर्घटना टोलेडो प्रान्तका मोरा र ओर्गाज सहरबीच भएको हो। दुर्घटनामा परेको एउटा रेल म्याड्रिडबाट दक्षिणी सहर सेभियातर्फ जाँदै थियो।
दुर्घटनाका तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्। ती तस्बिरमा रेलका डिब्बा लिकबाट बाहिरिएर खाल्डोमा पल्टिएको देखिन्छ। घाइतेलाई उपचार तथा सुरक्षित स्थानमा राख्न उद्धारकर्मी परिचालन गरिएको छ।
उर्दा सहरका मेयर म्यानुएल गालानका अनुसार आपत्कालीन सेवाले घाइतेलाई राख्न स्थानीय खेलकुद हल तयार पार्न आग्रह गरेका थिए।
प्रधानमन्त्री सान्चेज स्तब्ध
स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले दुर्घटनाप्रति स्तब्धता व्यक्त गरेका छन्। उनले यातायातमन्त्री र कास्टिला–ला मान्चा क्षेत्रका अध्यक्षसँग निरन्तर सम्पर्कमा रहेको बताएका छन्।
सामाजिक सञ्जाल एक्समा उनले दुर्घटनाबाट प्रभावित व्यक्तिहरूको उद्धार र सुरक्षाका लागि आपत्कालीन सेवाहरू घटनास्थलमा खटिएको बताएका छन्। उनले पीडित र उनीहरूका परिवारप्रति समवेदना तथा समर्थन पनि व्यक्त गरेका छन्।
सान्चेजले सम्बन्धित सबै प्रशासनबीच समन्वय गरेर उद्धार तथा राहत कार्य भइरहेको उल्लेख गरेका छन्।
दुर्घटनापछि म्याड्रिड र दक्षिणी अन्डालुसिया क्षेत्र जोड्ने उच्च गतिको रेल सेवा स्थगित गरिएको छ। रेल पूर्वाधार सञ्चालक एडिफले दुई रेलबीच पछाडिबाट ठक्कर भएको जानकारी दिँदै उक्त मार्गमा रेल आवागमन रोकिएको जनाएको छ।


प्रतिक्रिया