काठमाण्डु- नेपाली कांग्रेससका पूर्वसभापति शेरबहादुर देउवाले आफूलाई भेट्न चुनदेवी पुग्ने गरेका नेता कार्यकर्तालाई पार्टीको आधिकारिकता आफूहरूले पाउनेमा ढुक्क हुन भन्ने गरेका छन् ।
उनले चुनदेवीमा पुग्ने नेतादेखि कार्यकर्तासम्मलाई पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतले निस्सा दिइसकेकाले आधिकारिकता आफ्नै हुने आश्वासन बाँडिरहेका छन् । ‘रुख र चारतारे झण्डा हामीलाई आउँछ, तिमीहरू चिन्ता नगर’, उनले नेता-कार्यकर्तामा उत्साह भर्दै भन्ने गरेका छन् ।
यसो भन्दा देउवामा अलग्गै किसिमको आत्मविश्वास देखिने गरेको उनलाई भेट्ने नेताहरू बताउँछन् । गत साता देउवालाई चुनदेवीमा भेटेका एकजना कांग्रेसका पूर्वपदाधिकारीले देउवाको आत्मविश्वास देखेर आफूहरू चकित पर्ने गरेको बताए ।
‘शेरबहादुर दाइमा बेजोड आत्मविश्वास देख्छु’, ती नेताले काठमाण्डुपाटीसँग भने, ‘रुख चिह्न र चारतारे झण्डा हाम्रो हुन्छ, हुन्छ’, ती नेताले भने। कसरी हुन्छ भन्ने प्रतिप्रश्न गर्ने नेता कार्यकर्ताहरूलाई आश्वस्त पार्दै देउवाले अर्को तर्क पनि गर्ने गरेका छन् ।
रास्वपा नेतृत्वको सरकारले आफूलाई दुई पटकसम्म इन्टरपोलमार्फत् ‘रेड नोटिस’ जारी गरेर नेपाल ल्याउन खोजेको प्रसंग सुनाइरहेका छन् देउवा ।
‘मलाई दुई पटकसम्म रेड नोटिस जारी गरेर यो सरकारले नेपाल ल्याउन खोजेको थियो । आफैं आउँदा किन पक्राउ गरेनन् ? किन स्कर्टिङ गर्न एयरपोर्टमा प्रहरीको गाडी पठाए, कुरा बुझ के कुरा’, देउवाको भनाइ उद्धृत गर्दै ती नेताले भने । सरकारले पूर्वप्रधानमन्त्रीको हैसियतमा अहिले पनि देउवाको सुरक्षामा प्रहरी खटाउँदै आएको छ ।
गत वर्ष २४ भदौमा जेन-जी आन्दोलनकारीले बुढानीलकण्ठस्थित घरमै घुसेर देउवा र उनकी पत्नी आरजु राणा देउवामाथि सांघातिक आक्रमण गरेका थिए । त्यसबेला देउवाको गर्धनमा गहिरो चोट लागेको थियो । काठमाण्डु र सिंगापुरमा लामो उपचारपछि अहिले उनी राजनीतिमा सक्रिय छन्।
गत वर्ष २१ फागुनको निर्वाचनको एक साताअघि फागुन १३ गते देउवा फलोअप उपचारका लागि भन्दै सिंगापुर उडेका थिए । तीन साता सिंगापुर बसेर उनी ७ चैतमा हङकङ गए । करिब ५ महिना हङकङमा बसेर गत २८ साउनमा स्वदेश फर्किए ।
नेपाल फर्किएकै दिनदेखि देउवाले कांग्रेसमा आफ्नो पूर्वसमूहलाई संगठित गर्न थाले । विमानस्थलबाट उनको समूहले स्थापना गरेको चुनवेदीस्थित सम्पर्क कार्यालय पुगेर स्वागतमा उपस्थित नेता कार्यकर्तालाई धन्यवाद दिए ।
नेपाल फर्किएकै दिनदेखि देउवा आन्तरिक राजनीतिमा सक्रिय छन् । कांग्रेस संस्थापक बीपी कोइराला पुत्र डा. शशांकलाई संयोजक तोकेर दउवा समूह महाधिवशेनको तयारीमा छ ।
देउवा समूहले आगामी २१ देखि २३ मंसिरसम्म १५औँ महाधिवेशन काठमाण्डुमा गर्ने घोषणा गरेको छ ।
१५ असोजदेखि वडा अधिवेशन सुरु गरेको सो समूहले १५ कात्तिकसम्म जिल्ला अधिवेश सकेको छ । गगन थापा नेतृत्वको विशेष महाधिवेशन पक्षधरले भने असोज १८ देखि २३ गतेसम्म १५औं महाधिवेशन गरिसकेको छ ।
कांग्रेस आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन छ । सर्वोच्चले यसअघि विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको टिमलाई वैधता दिएको थियो ।
त्यसविरुद्ध देउवा र तत्कालीन कार्यबाहक सभापति पूर्णबहादुर खड्का छुट्टाछुट्टै पुनरावलोकनको निवेदन लिएर सर्वोच्च गएका थिए ।
त्यसअघि गत वैशाखमा न्यायाधीशहरू शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले विशेष महाधिवेशनलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय कानुनसम्मत ठहर गरेकोे थियो । तर सर्वोच्चले उक्त आफ्नो निर्णय पुनरावलोकन आदेश दिएपछि अहिले देउवा समूह उत्साहित छ।


प्रतिक्रिया