सरकार बनेयताको ६ महिनामा सीमाबाट १ अर्ब ३३ करोडको अवैध सामग्री बरामद

सरकार बनेयताको ६ महिनामा सीमाबाट १ अर्ब ३३ करोडको अवैध सामग्री बरामद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार गठन भएयता सशस्त्र प्रहरी बल, नेपालले सीमा क्षेत्रबाट १ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी मूल्यका अवैध सामग्री बरामद गरेको छ।

सरकारले सीमा क्षेत्रमा निगरानी र सुरक्षा व्यवस्था कडा बनाउने नीति लिएसँगै सशस्त्र प्रहरीले अवैध सामानको ओसारपसार, लागूऔषध कारोबार, हातहतियार तस्करी तथा अन्य आपराधिक गतिविधिविरुद्ध कारबाही तीव्र पारेको हो।

सशस्त्र प्रहरीका अनुसार २०८२ चैत १३ देखि २०८३ कात्तिक १२ गतेसम्मको अवधिमा सीमा क्षेत्रबाट १ अर्ब ३३ करोड २६ लाख ९१ हजार ५९९ रुपैयाँ बराबरका अवैध सामग्री बरामद गरिएको छ।

यस अवधिमा १७ नाल अवैध हातहतियार बरामद भएका छन् भने हातहतियारसम्बन्धी गतिविधिमा संलग्न आठ जना पक्राउ परेका छन्।

त्यस्तै, लागूऔषध कारोबारमा संलग्न ४२१ जनालाई पक्राउ गरिएको छ। पक्राउ परेकाहरूबाट गाँजा, चरेस, अफिम, खैरो हेरोइन, विभिन्न प्रकारका ट्याब्लेट तथा इन्जेक्सनलगायत लागूऔषध बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणतर्फ पनि सशस्त्र प्रहरीले सक्रियता बढाएको छ। उक्त अवधिमा बेचबिखन तथा ओसारपसारको जोखिममा परेका १६७ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ११८ जना बालबालिका छन्। यसमा संलग्न रहेको आरोपमा ९१ जना पक्राउ परेका छन्।

दशगजाका २३७ संरचना हटाइए

सीमा अतिक्रमण नियन्त्रण तथा दशगजा क्षेत्रको संरक्षणका लागि पनि सशस्त्र प्रहरीले अभियान सञ्चालन गरेको छ।

यसक्रममा दशगजाका ३५ स्थानमा रहेका २३७ वटा संरचना हटाइएको छ। त्यस्तै, १७ स्थानमा अतिक्रमण गरी लगाइएको खेतीपाती हटाएर ७.४४८ बिघा जग्गा खाली गराइएको छ।

सीमा क्षेत्रको वातावरणीय सरसफाइ तथा व्यवस्थापनका लागि २०४ स्थानमा गरी ९४.५८८ किलोमिटर क्षेत्र सरसफाइ गरिएको छ।

सशस्त्र प्रहरीले सीमा क्षेत्रका बासिन्दासँगको सम्बन्ध सुधार र जनचेतना अभिवृद्धिलाई पनि प्राथमिकतामा राखेको जनाएको छ।

यस अवधिमा सीमावासीसँगको सहकार्य, सुरक्षा सचेतना र सम्बन्ध विस्तारका लागि २ हजार ८०६ वटा कार्यक्रम सञ्चालन गरिएका छन्।

सीमा क्षेत्रमा स्थापना गरिएका १४१ वटा सहायता कक्षबाट ३ लाख ४९ हजार ९०८ जना लाभान्वित भएका छन्। त्यस्तै, १३ वटा पर्यटक सहायता कक्षमार्फत १० हजार ६५४ जनाले सेवा प्राप्त गरेका छन्।