राष्ट्रिय जुनियर टेनिसमा शाश्वत, आर्यश, निधय र स्वरालाई उपाधि

राष्ट्रिय जुनियर टेनिसमा शाश्वत, आर्यश, निधय र स्वरालाई उपाधि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की – पोखरामा शनिबार सम्पन्न राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा शाश्वत बज्राचार्य, आर्यश राज पौडेल, निधय विक्रम राना र स्वरा थापाले आआफ्नो उमेर समूहमा उपाधि जितेका छन् ।

गण्डकी प्रदेश टेनिस संघको आयोजना तथा कास्की जिल्ला टेनिस संघको सहकार्यमा सञ्चालित प्रतियोगिताको यू–१८ ब्वाइज सिङ्गल्सतर्फ शाश्वत बज्राचार्यले असव सम्राट हाडालाई ६–२, ६–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका हुन् ।

यू–१४ ब्वाइज सिङ्गल्सतर्फ आर्यश राज पौडेलले फाइनलमा अभिषेक बायलकोटीलाई ६–०, ६–१ को सेटमा पराजित गर्दै उपाधि हात पारे ।

यू–१२ ब्वाइज सिङ्गल्सतर्फ निधय विक्रम रानाले इभान भट्टराईलाई ६–१, ६–४ को सोझो सेटमा हराउँदै च्याम्पियन बने ।

यसैगरी यू–१४ गर्ल्स सिंगल्सतर्फ स्वरा थापाले एरा खत्रीलाई ६–१, २–६, ६–३ को सेटमा पराजित गर्दै उपाधि जितिन् ।

प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडीलाई मुख्य प्रायोजक ट्रयांकयुलिटी स्पाका एरिया कोअर्डिनेटर प्रमिला थापा, आयोजक गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष विनोद कायस्थ, प्रतियोगिता संयोजक लोकबहादुर गुरुङ, कास्की जिल्ला टेनिस सङ्घका उपाध्यक्ष नवीन श्रेष्ठ तथा सचिव भीष्मराज पौडेल लगायतले पदक, ट्रफी, प्रमाणपत्र र उपहार प्रदान गरे ।

संघका अध्यक्ष कायस्थले प्रतियोगिताले युवा टेनिस खेलाडीको उत्पादन तथा विकासमा योगदान पुर्‍याएको बताउँदै प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे ।

संघले स्थापनाकालदेखि नै जुनियर टेनिस प्रशिक्षण र खेलाडी उत्पादनलाई प्राथमिकता दिँदै आएको जनाएको छ । संघका अनुसार पछिल्लो ३ वर्षमा १ दर्जनभन्दा बढी खेलाडी राष्ट्रिय जुनियर वरियतामा पर्न सफल भएका छन् । तीमध्ये केही खेलाडीले नेपालको प्रतिनिधित्व गर्दै अन्तरराष्ट्रिय प्रतियोगितामा समेत सहभागिता जनाइसकेका छन् ।

पोखरालाई टेनिस खेलको महत्त्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको अध्यक्ष कायस्थले बताए । प्रतियोगिताले टेनिस खेलको विकास तथा क्षमतावान् खेलाडीको पहिचान र उत्पादनमा सहयोग पुग्ने उनको भनाइ थियो ।

कात्तिक १८ गतेदेखि सुरु भएको प्रतियोगितामा पोखरासहित विभिन्न जिल्लाका ४३ खेलाडी सहभागी थिए ।