काठमाण्डु – सामाजिक सञ्जालको दुरूपयोग गरी महिलाको चरित्र हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा इलामको माई नगरपालिका–१ घर भएका २९ वर्षीय विकल्प राई र सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–५ घर भएका ३० वर्षीय सुजन पाण्डे रहेका छन् ।
पक्राउमध्ये विकल्पले पीडित महिलासँग प्रेम सम्बन्धमा रहँदा खिचेका तस्वीर तथा भिडियो सामाजिक सञ्जाल टेलिग्राममार्फत सार्वजनिक गरी चरित्र हत्या गरेको र सुजनले सामाजिक सञ्जाल एक्स मार्फत पीडित महिलाको अश्लील भिडियो र तस्वीर आफूसँग रहेको तथा भिडियो र तस्वीर सार्वजनिक गरी दिने भनी धम्की दिनुका साथै पीडितको चरित्र हत्या गरेको घटनाको अनुसन्धानको क्रममा साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले विकल्पलाई काठमाडौं ठमेलबाट र सुजनलाई तारकेश्वरबाट पक्राउ गरेको हो ।
उनीहरूउपर जिल्ला अदालत काठमाण्डुबाट विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया