काठमाण्डु – सर्वोच्च अदालतको न्यायाधीशका लागि प्रस्तावित चारै जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ ।
शनिबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका चन्द्रबहादुर सारु, जनक पाण्डे, गोकर्ण डाँगी र डा. रत्नबहादुर बागचन्दको नाम अनुमोदन गरेको हो ।
समितिका सभापति बोधनारायण श्रेष्ठले चारै जनाको नाम अनुमोदन भएको जानकारी दिए । न्यायपरिषद्ले उच्च अदालतका मुख्य न्यायाधीश रहेका उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको थियो ।
सुनुवाइका क्रममा प्रस्तावित न्यायाधीशहरूसँग सांसदहरूले विभिन्न प्रश्न गरेका थिए । सुनुवाइ प्रक्रिया पूरा भएपछि समितिले उनीहरूको नाम अनुमोदन गरेको छ ।
प्रस्तावित न्यायाधीशविरुद्ध १३ वटा उजुरी परेका थिए । न्याय परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले न्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।


प्रतिक्रिया