सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी एनपीएलको फाइनलमा

सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी एनपीएलको फाइनलमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – साविक विजेता लुम्बिनी लायन्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै लुम्बिनीले लगातार दोस्रोपटक फाइनलमा स्थान बनाएको हो ।

सुदूरपश्चिमले निर्धारित २० ओभरको खेलमा दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६ दशमलव ४ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो ।

लुम्बिनीका लागि निरोशन डिकवेलाले अर्धशतकीय पारी खेले । उनले २७ बलमा ७ चौका र २ छक्कासहित ५९ रन बनाए । यस्तै दिलिप नाथले अविजित १० तथा  कप्तान रोहितकुमार पौडेलले २७ बलमा १ चौकासहित २१ रन बनाए ।

बलिङतर्फ सुदूरपश्चिमका लागि थरिन्दु रत्नायकेले २  तथा स्कट कुगेलेइन र हेमन्त धामीले १/१ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०५ रन बनायो । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेले । उनले ५१ बलमा ३ चौका र १ छक्काको मद्दतमा ५२ रन बनाए ।

यस्तै ईशान पाण्डेले ३३ बलमा ३ चौकासहित २७ रन बनाए । बाँकी ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङतर्फ लुम्बिनीका लागि रुबेन ट्रम्पलम्यान र शेर मल्लले २/२ तथा किशोर महतो र अभिशेष गौतमले १/१ विकेट लिए । मंगलबारको हारपछि सुदूरपश्चिमले अब बुधबार हुने काठमाण्डु गोर्खाज र चितवन राइनोजबिचको एलिमिनेटर खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।