सभामुख अर्यालसँग चिनियाँ जनसंघ अध्यक्ष वानमिङको शिष्टाचार भेट

सभामुख अर्यालसँग चिनियाँ जनसंघ अध्यक्ष वानमिङको शिष्टाचार भेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग चिनियाँ जनसंघका अध्यक्ष महामहिम याङ वानमिङले शिष्टाचार भेट गरेका छन् ।

भेटका अवसरमा सभामुख अर्यालले नेपाल र चीनबीच रहिआएको ऐतिहासिक, घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन जनस्तरको सम्बन्ध र सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिए ।

उनले नेपाल–चीन सम्बन्ध पञ्चशीलका सिद्धान्त, पारस्परिक विश्वास, सम्मान र सहअस्तित्वमा आधारित रहेको उल्लेख गर्दै नेपाल एक चीन नीतिप्रति दृढ रहेको र नेपाली भूमि चीनविरुद्ध कुनै पनि गतिविधिमा प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

सभामुख अर्यालले २ देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवले आपसी सम्बन्धलाई थप उचाइमा पुर्‍याउन महत्त्वपूर्ण योगदान गरेको बताउँदै शिक्षा, पर्यटन, संस्कृति, सूचना प्रविधि, कृषि तथा विपद् व्यवस्थापन लगायतका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने धारणा राखेका छन् ।

उनले नेपालका स्थानीय तह र चीनका सहर तथा प्रान्तहरूबीच भगिनी सम्बन्ध विस्तार, सांसद तथा युवा नेतृत्वको आदानप्रदान र अनुभव साझेदारीलाई प्राथमिकता दिनुपर्ने बताए । जलवायु परिवर्तन, हिमनदी पग्लिने क्रम र हिमाली पारिस्थितिक प्रणाली संरक्षणमा दुवै देशबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे ।

सभामुख अर्यालले विपद्का समयमा चीन सरकार तथा चिनियाँ मैत्री संस्थाहरूले नेपाललाई पुर्‍याउँदै आएको सहयोगप्रति आभार व्यक्त गरे ।

भेटमा चिनियाँ जनसंघका अध्यक्ष याङ वानमिङले नेपाल–चीनबीचको परम्परागत मित्रता र जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउन आफ्नो संस्थाले निरन्तर भूमिका निर्वाह गर्ने बताए । उनले २ देशका स्थानीय तह, सहर तथा समुदायबीच भगिनी सम्बन्ध र आपसी आदानप्रदानका कार्यक्रम विस्तार गर्न सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै नेपालसँगको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउन चिनियाँ पक्ष इच्छुक रहेको धारणा राखेका छन् ।